तराईमा बाक्लो हुस्सु , काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री

काठमाडौँ – देशभरि नै चिसो बढ्ने क्रम तीव्र रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उल्लेखनीय मौसमी प्रणाली नभए पनि तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागेको मौसमविद वरुण पौडेलले जानकारी दिएका छन् ।

न्यूनतम र अधिकतम तापक्रमबिचको अन्तर कम हुने क्रम जारी रहेकाले केही क्षेत्रमा तुसारो परेको छ । तराईका क्षेत्रमा लगातार हुस्सु तथा कुहिरो लाग्ने र दिउँसो पनि घाम नलाग्ने सम्भावना बढी रहेको मौसमविद पौडेलले बताए । तर अहिले नै शितलहर चलेको भन्न मिल्ने अवस्था भने नरहेको उनले बताए ।

यस्तै काठमाडौँ उपत्यका तथा देशका पहाडी क्षेत्रमा बिहान केही समय कुहिरो लागे पनि दिउँसो घाम लाग्ने तर चिसो भने अधिक हुने उनको भनाई छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ ।

देशभरि नै तापक्रम घट्ने क्रम जारी रहेका बेला बुधबार बिहान काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम ३।७ डिग्री सेल्सियस पुगेको छ । अझै तापक्रम कम हुने मौसमविद पौडेलले बताए । दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम १६ देखि १८ डिग्रीसम्म पुग्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार