‘ट्राफिक उज्यालो अभियान’ सुरु

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ‘ट्राफिक उज्यालो अभियान’ सुरु गरेको छ।  समुदाय–प्रहरी साझेदारीअन्तर्गत ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले महाशाखाले मंगलबारबाट यो अभियान सुरु गरेको हो।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनचेतनाको निम्ति सडक सुरक्षा कार्यक्रम एजेण्डाको रुपमा रहेको चर्चा गर्दै यस अभियान कार्यान्वयनका लागि सरोकारवाला निकायको सहकार्य अतुलनीय रहेको उल्लेख गरे ।

साथै मानवीय त्रुटीमा कमी ल्याई सवारी दुर्घटनान्यूनीकरण गर्न अभियान सफल बनाउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला, अखिल नेपाल यातायात मजदूर संगठनका अध्यक्ष सोम तामाङ र हिसानका कार्यबाहक अध्यक्ष युवराज शर्माले अभियानको महत्व तथा सफलताको शुभकामना सहित मन्तव्य दिएका थिए।

महानगरीय ट्राफिक प्रहरी माहाशाखाको आयोजना र सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक–सहचालक, स्कुल–कलेजका विद्यार्थीहरुको सहकार्य र सक्रिय सहभागितामा ट्राफिक नियमसम्बन्धी चेतना अभिवृद्धि गरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो ।

ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पुर्‍याउने, ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वतः आम प्रवृत्तिको रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने, सडक दुर्घटना न्यूनीकरण गरी धनजनको क्षति कम गर्ने उद्धेश्य रहेको ट्राफिक प्रमुख ढकालले बताए ।

‘समुदाय–प्रहरी साझेदारी’ अवधारणालाई नागरिकमैत्री बनाउँदै जनविश्वास आर्जन गर्ने र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने उक्त अभियानको प्रमुख उद्धेश्य रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखा तथा मातहतका ४० वटा ट्राफिक कार्यालयहरुले लक्षित समूह पहिचान गरी अभियान सञ्चालन गर्ने र तीन महिनामा एक लाख जनालाई सचेतना गराउने लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार