प्रधानमन्त्रीको यस्तो निर्देशन, रोकिएला त सवारी दुर्घटना ?

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाएर सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाइ तत्काल लागू गर्न निर्देशन दिनुभएको छ ।

पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार बोलाउनु भएको हो ।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको समूहलाई प्रधानमन्त्रीले संयुक्त रुपमा निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भावुक रुपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउनेगरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दूर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिनुभयो ।

हवाइ दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणहरुको छानबिन गरी प्रतिवेदन तयार गर्न र त्यसै अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । प्रधानमन्त्रीको निर्देशन अनुरुप यस आर्थिक वर्षमा भएका सडक दुर्घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गृहमन्त्रालयले व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार