काठमाण्डाै – नेपालले पहिलो पटक प्रक्षेपण गरेको भू-उपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–१ पहिलो पटक ती तस्वीर लिन सफल भएको हो ।
झण्डै एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्वीर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले दिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण हामी नेपाली स्याट–१ मार्फत नेपालमाथिको आकाशबाट भने ठ्याक्कै तस्बिर कैद गर्न सफल भएका छैनाैँ । सो भू-उपग्रह नेपाल आएर फर्केर जाँदा नाष्ट रेडियो उपकरण मिलान गर्न सफल भएन ।’
नाष्टभित्रकै प्रविधिमा स-साना समस्या देखिएकाले त्यसको खरिद प्रक्रियामा नाष्ट अघि बढेको ढकालले बताउनुभयो । नाष्टले आफ्ना प्राविधिक इञ्जिनियरलाई ग्राउण्ड स्टेशनबारे थप जानकारी हासिल गराउन केही दिनका लागि जापान पठाउने तयारी गरिरहेको छ ।
नाष्टले भू-उपग्रहबारे तीनदेखि चार दिनको तथ्यांक संकलन गरेर अध्ययन गर्दा ती तस्बिर कैद भएको सूचना प्राप्त गरेको थियो । नेपालले गएकाे वैशाख ४ गते नेपाली स्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरेको थियो ।