डिसी । नेपालको भूमि अतिक्रमण गरेको भारतको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शन गरिएको हो ।
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक चक्कर लगाएपछि अगाडि बढेको विरोध जुलुस डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म पुगेर सम्पन्न भएको थियो ।
उक्त विरोध जुलुसमा अंग्रेजी तथा नेपाली दुवै भाषामा नाराहरु लेखिएका प्रचार सामग्री प्रदर्शन गरिएको थियो । राष्ट्रिय पोशाकमा सजिएका र नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ भन्दै नारा लगाएका थिए ।
अमेरिकाको राजधानी वाशिंगटन डिसीको बीच सडकबाट भारत विरोधी नारासहित गरिएको प्रदर्शनले सबैको ध्यानाकर्षण गर्न सफल भएको बिरोध जुलुसका संयोजक तथा बानाका पूर्वअध्यक्ष कुलमणि आचार्यले बताए ।