सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका ६ मुक्लीमा सञ्चालन हुने दुधकोशी सामुदायिक अस्पताल निर्माण कार्य सुरु भएको छ । शुविधा सम्पन्न ५० शैयाको उक्त अस्पतालको शुक्रबार सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई (शुरबीर), प्रदेश संसद उत्तम कुमार बस्नेत, थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, अस्पताल निर्माण समितीका कोषअध्यक्ष एवं समाजसेवी बलराम गुरुङले ईटा राखेर सुरु गरे ।
१८ महिना भित्र भवन निर्माणको काम पुरा गर्ने गरि रौताकुँवर जेभिले रु.१० करोड १० लाख ७२ हजार ७ सय ५३ रुपैँयामा ठेक्का पाएको छ । भवन निर्माण कर्य सुरु गर्दै गाउँपालिका अध्यक्ष असिम राईले सर्वसाधरण जनताले समेत स्वास्थ्य सेवा पाउँने आशासहित आर्थिक सहयोग गरेकाले निर्धारित समयमानै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै अस्पताल निर्माण समितिका कोषअध्यक्ष एवं समाजसेवी बलराम गुरुङले गरिब जनताको स्वास्थ्य सेवालाई सहज बनाउन अस्पतालको अवधारण ल्याएको भन्दै तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने दृढता व्यक्त गरे । आम मुक्लीबासीको मात्रै नभई जिल्लाबासीकै लागि गौरवको योजना तथा महत्वपुर्ण पक्ष भएकाले निर्माण कार्यमा सहयोग गर्नुसबैको दायित्व भएको उनको भनाई छ ।
यस्तै प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेतले अस्पताल निर्माण हुन नदिने विकास विरोधी शक्तिहरु समेत सलबलाएकाले यस तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिदै विकासमा खुट्टा तान्ने प्रबृत्ति मौलाउनु दुःखद भएको बताए ।
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुदै प्रतिनिधिसभा सदस्या हेम कुमार राई सुरविरले गाउँपालिकाले नमुना कार्यको थालनी गरेकाले निर्माण सम्पन्न पश्चात सोलुखुम्बु मात्र नभई छिमेकी जिल्ला खोटाङ, ओखलढुगां लगायतका नागरिकहरुलाई समेत सहज स्वास्थ्य सेवा प्राप्त हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा निर्माण समितिका महासचिव विमल बस्नेत, बरिष्ठ उपाअध्इक्ष संकर कार्की, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती लगायतको उपस्थिती रहेको थियो । उक्त अस्पताल निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महाज्ञयको समेत आयोजना गरिएको थियो । सोही अवसरमा विद्यार्थी, शिक्षक, पेशागत कर्मचारी, पत्रकार लगाएतले सहयोग गरेका छन् ।
सोलुखुम्बुमा जिल्लामा रहेको जिल्ला अस्पताल फाप्लुमा समेत सहज तथा गुणस्तरीय सेवा नपाउँदा यहाँका सयौ बिरामी ओखलढुंगाको रुमजटार लगाएत बाह्य अस्पतालमा लानुपर्ने बाध्यता रहेको छ । पछिल्लो केही बर्ष देखी राजधानी संग जिल्ला सदुरमुकाम सल्लेरी सिधा सडक सञ्जालमा जोडिएको भएपनि ग्रामीण भेगमा पहँुच कम हुँदा हेलिकोप्टरनै च्याटर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पताल सञ्चालनमा आएपछि त्यस्ता बाध्यताको अन्त्य हुनेमा आम नागरिक आशाबादी छन् । उक्त अस्पतालमा सोलुखुम्बुकासी सहित छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा र भोजपुरको उत्तरी क्षेत्रका नागरिकले समेत सहज सेवा पाउने बताईएको छ ।