काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आज (आइतबार) महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गर्दैछ । आफ्नो २५ औँ महानगर दिवसका अवसरमा आज विशेष कार्यक्रम गरी महानगरपालिकाले महानगरलाई सडक मानवमुक्त घोषणा गर्ने भएको हो ।
मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरीको सहयोगमा काठमाण्डौ महानगर क्षेत्रलाई सडक मानवमुक्त बनाउन लागिएको मानव सेवा आश्रमका उपाध्यक्ष धर्मेन्द्र पौडेलले जानकारी दिनुभयो ।
सडकमा कोही पनि बेसहारा, असहाय छोडिन नपरोस् भनेर सडक मानव मुक्त महानगर घोषणा गर्न लागिएको उहाँले बताउनु भयो । अब काठमाण्डौ महानगरभरि कोही पनि मानिसले सडकमै रात बिताउनुपर्ने अवस्था नहुने, सडक मानवलाई उद्धार गरेर आश्रममा राखिने उपाध्यक्ष पौडेलको भनाइ छ ।