काठमाडौं | काठमाडौं माहानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अत्याधुनिक दमकल खरिदको प्रक्रियामा रहेको बताएका छन्। महानगरको २५ औं बार्षिकोत्सवको अवसर पारेर वडा ६, को रामहिटीमा नवनिर्मित महानगर वारुण यन्त्र तथा तालिम केन्द्रको उद्घाटन गर्दै मेयर शाक्यले भने, ‘सम्भावित आगोजन्य विपद् व्यवस्थापन गर्न क्षेत्र विस्तार गरिएको छ । ६० मिटर अग्लो ल्याडर र ६ हजार लिटर पानी ट्याङ्की क्षमता भएको दमकल गरी ३ वटा अत्याधुनिक उपकरण खरिद प्रक्रियामा रहेको छ ।’
विस्तारित सहरलाई आगोजन्य जोखिमबाट बचाउन रामहिटीमा दमकल स्टेशन रहेको उल्लेख गर्दै शाक्यले भने, ‘यहाँबाट महानगरको उत्तरी क्षेत्रसँगै छिमेकी गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुर र बुढानिलकण्ठ नगरमा पनि प्रत्यक्ष लाभ पुग्छ।’
भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, भवन कविन्द्र सिद्धार्थ जेभिलाई भवन निर्माण गर्न भ्याटसहित ८ करोड ६१ लाख १६ हजार ९९३ रुपैयाँमा कार्यादेश दिइएको थियो । ३.५ रोपनी क्षेत्रफल जमिनमा निर्माण भएको भवन साढे २ तले १२ हजार बर्गफुटको छ । भवनमा १ लाख ५० हजार लिटर क्षमताको पानी ट््याङ्की छ भने भवनमा अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, ३ वटा दमकल राख्ने ठाउँ तालिमका लागि २ वटा सुविधा सम्पन्न कार्यक्रम स्थल रहेका छन् ।
२०७५ साउन २८ गते भवन निर्माणका लागि प्रमुख शाक्यले शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको साढे १५ महिनामा भवन निर्माण सम्पन्न भएको हो । तोकेकै समयमा भवन निर्माण सम्पन्न गरेकोले उद्घाटन समारोमा कबिन्द्र सिद्धार्थ जेभिका निर्माण व्यवसायी यज्ञहरि महर्जनलाई सम्मान गरिएको थियो ।
अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार आजबाट केन्द्रमा एउटा दमकल, एउटा ल्याडर र एउटा रेक्क्यु जीप र २ वटा फायर बाइक राखिएका छन् । यी उपकरण सञ्चालन गर्न १५ जना अग्नि नियन्त्रक केन्द्रमा २४ सै घण्टा तैनाथ गरिएको छ ।