ट्रम्पमाथिको महाअभियोग प्रस्ताव न्यायिक समितिबाट पारित

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाको संसदीय न्यायिक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने दुई बुँदे अभियोग प्रस्ताव पारित गरेको छ । अब ट्रम्पमाथिको महाअभियोग प्रस्ताव तल्लो सदनमा मतदानको प्रक्रियामा जानेछ ।

डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा अब आगामी साता पूर्ण मतदान हुने बीबीसीले जनाएको छ । जसमा डेमोक्र्याटहरुले महाअभियोग लगाउनुपर्ने पक्षमा र डेमोक्र्याटहरुले महाअभियोगको विपक्षमा मतदान गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा महाअभियोगको सामना गर्ने चौथो राष्ट्रपति हुन् । उनले ह्वाइट हाउसमा सञ्‍चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया एक ‘देखावटी’ र ‘धोका’ भएको बताएका छन् ।

न्यायिक समितिमा शुक्रबार सुनुवाईपछि भएको मतदानमा प्रस्तावको पक्षमा २३ र विपक्षमा १७ मत परेको थियो । बिहीबार नै मतदान हुने भनिएको थियो । तर १४ घण्टासम्म चलेको बृहत सुनुवाईपछि मात्रै मतदान भएको हो ।

रिपब्लिकन नेताहरुले डेमोक्र्याटिक पार्टी प्रमुख जेरी नाड्लरले उक्त मतदान धेरै टिभी कभरेज होस् भन्‍ने उद्देश्यले पछि सारेको आरोप लगाउँदै आलोचना गरेका छन् ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र कंग्रेसलाई अवरोध गरेको आरोप लगाइएको छ । – बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार