बेलायतमा भएको निर्वाचनमा कन्जर्भेटिभलाई बहुमत आउने संकेत

काठमाडौं । बेलायतमा भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टी फेरि एक पटक सत्तामा आउने भएको छ । मतदानलगत्तै इब्सोस मोरीले बीबीसीका लागि गरेको सर्वेक्षणमा प्रधानमन्त्री बोरिस जोनसनको दल कन्जर्भेटिभ पार्टीको बहुमत आउने संकेत देखिएको बीबीसीले जनाएको छ ।

सर्वेक्षण अनुसार ६५० सीटको संसदमा कन्जर्भेटिभ पार्टीको ३६८ मत, लेबर पार्टीको १९१, लिबरल डेमोक्र्याट्स्को १३ र एसएनपीको ५५ सिट आउने अनुमान गरिएको छ । कन्र्जभेटिभ पार्टीको २०१७ को निर्वाचनको नतिजा अनुसार ५० सीट थप हुने संकेत देखिएको समाचारमा जनाइएको छ ।

हालैका वर्षहरुमा बेलायतमा मत सर्वेक्षणहरु फलदायी भएको बताइएको छ । सन् २०१७ को निर्वाचनमा पनि त्रिशंकु संसदको पूर्वानुमान सही सावित भएको थियो । आफ्नो पहिलो प्रतिक्रियामा प्रधानमन्त्रीले बोरिस जनसनले सम्पूर्ण देशवासीलाई धन्यवाद दिएका छन् । उनले मतदाताले साथ दिएर विश्वको सबैभन्दा महान लोकतन्त्रमा रहेको पुष्टि गरेको बताए ।

तर लेबर पार्टीका सैडो चान्सलर जान मैकडानलले मत सर्वेक्षण सत्य नरहेको र अत्यन्त निराशाजनक रहेको प्रतिक्रिया दिएका छन् । यसैबीच मत सर्वेक्षणको नतिजा सार्वजनिक भएलगत्तै पाउण्डको मूल्य बढेको छ । अमेरिकी डलरको तुलनामा ३ प्रतिशतले वृद्धि भएको छ जुन गत वर्षको मेदेखि यताकै उच्च हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार