सप्तरी- सप्तरीको रुपनी गाउँपालिका- ६ वीरेन्द्र बजारमा संचालित एक बंगुर फर्ममा अज्ञात रोगका कारण एक साताभित्र ६१ वटा बंगुर मरेका छन्।
अज्ञात रोगका कारण मंसिर २३ गतेदेखि बंगुर मर्न थालेको र बिहीबारसम्म ६१ वटा बंगुर मरिसकेको फर्मका संचालक कुलानन्दप्रसाद चौधरीले बताए। ज्वरो आउने, थर्थर काम्ने, मुखमा र्याल निकाल्ने र केहि समयमै बंगुर मर्ने गरेको उनले बताए।अहिलेसम्म करिब १० लाख रुपैयाँको क्षति भएको चौधरीको भनाइ छ।
बंगुरमा फैलिएको रोगको उपचारका लागि पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला विराटनगर र राजविराजस्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहा/सप्तरीबाट टोली आएको थियो। प्राविधिकको सल्लाहअनुसार बुधबारदेखि बाँकी बंगुरलाई औषधि गर्न थालिए पनि मर्ने क्रम जारी नै रहेको उनले बताए।
‘टोलीका पशु स्वास्थकर्मीले मरेका बंगुरको मासुको टुक्रा र रगत परिक्षणका लिएर गएपनि रिपोर्ट आएको छैन’ चौधरीले भने, ‘चर्को ब्याजमा ऋण लिएर बंगुर पालन सुरु गरे भटाभट मर्न थालेपछि एकातर्फ सावाँ/ब्याज कसरी चुक्ता गर्ने भन्ने चिन्ता बढेको छ। अर्कोतर्फ भएका बंगुर मरेर खोर नै रित्तो भएको छ।’