काठमाडौं- गत वर्ष ७.१ प्रतिशत आर्थिक वृद्धि गरेको नेपालले चालु वर्ष र र आउँदो वर्ष पनि यही लय समात्ने प्रक्षेपण विश्व बैंकले गरेको छ। नेपाल डेभलिमेन्ट अपडेट २०१९ सार्वजनिक गर्दै विश्व बैंकले चालु वर्षमा नेपालले ६.४ प्रतिशत र आउँदो वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको हो।
सेवा क्षेत्र र कृषिको वृद्धिदरले समग्र आर्थिक वृद्धिलाई बलियो टेवा दिएको विश्व बैंकले जनाएको छ। यद्यपि, औद्योगिक क्षेत्रको वृद्धिदर भने अझै कमजोर रहेको उसको प्रतिवेदनमा जनाइएको छ।
विश्व बैंकले आउँदो वर्षको अन्त्यसम्ममा नेपालको कूल गार्हस्थ उत्पादन र ऋणको अनुपात ३१.४ प्रतिशत पुग्ने पनि अनुमान सार्वजनिक गरेको छ। चालु वर्षको अन्त्यमा यस्तो अनुपात ३०.३ प्रतिशत रहने अनुमान पनि उसले गरेको छ।
नेपालको सबैभन्दा ठूलो दाता विश्व बैंकले वित्तीय संघीयता कार्यान्वनसँगै केही चुनौति पनि थपिएको जनाएको छ। गत आर्थिक वर्षमा प्रदेशहरुको पुँजीगत खर्चको अवस्था ५० प्रतिशत हाराहारीमा मात्रै रहेको भन्दै उसले विनियोजित बजेट खर्च गर्न नसक्नु सबैभन्जा ठूलो कमजोरी भएको उल्लेख गरेको छ।
विश्व बैंकले नीतिगत परिवर्तनसँगै राजस्वको आधार अझै बढ्न सक्ने पनि जनाएको छ। उसले चालु वर्षमा गत वर्षको तुलनामा आयातमा भएको कमी र निर्यात वृद्धि सकारात्मक भए पनि पुँजीगत उत्पादन बढाउने सामानको आयात कम हुनु राम्रो नहुने पनि उल्लेख गरेको छ।
विश्व बैंकले प्रक्षेपण बढाउने गरी काम गर्छौं- अर्थमन्त्री
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले विश्व बैंकले नेपालको आर्थिक वृद्धिको विषयमा गरेको प्रक्षेपण बढाउने गरी सरकारले काम गर्ने बताए। उनले विश्व बैंकले यसअघि पनि आफ्ना प्रक्षेपण बढाउनु परेको भन्दै उनले अब पनि नेपालको उपलब्धि प्रक्षेपितभन्दा राम्रो हुने टिप्पणी गरे।
मन्त्री खतिवडाले नेपाल सरकारले अहिलेसम्म आर्थिक वृद्धिको लक्ष्य परिवर्तन नगरेको र अहिल्यै परिवर्तनको बेला पनि नभएको बताए। अर्थमन्त्री खतिवडाले विश्वव्यापीरुपमा नै लगानी र व्यापारका अवसर खुम्चिएको भन्दै नेपालले आफ्नो सामर्थ्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने उनले उल्लेख गरे।