काठमाडाैं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मंगलबार (आज) समापन हुँदैछ। समापन अपराह्न ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सागको समापन समारोहलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘आज साँझ ५:०० बजे हुने समापनमा सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बाेधन भिडियाे सन्देशमार्फत हुने कार्यक्रम रहेकाे छ।’
अस्वस्थताका कारण प्रधानमन्त्री ओलीले निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्न लागेका हुन्। मंसिर १५ गतेदेखि शुरु भएको १३औं सागको मङ्गलबार समापन हुन हुन लागेकाे हाे।
समापन समारोह झण्डै डेढ घण्टाको हुने बताइएकाे छ। समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुनेछ। दिउँसो १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ।
समापन समारोहलाई प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, दक्षिण एसिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ। समारोहमा आगामी १४औं साग संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ।