काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत्को कानुन, न्याय तथा मानअधिकार समितिले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरेको छ । सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सामान्य परिमार्जनसहित विधेयक पारित गरेको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।
बैठकले मुलुकी अपराधसंहिता, देवानी संहिता तथा देवानी कार्यविधि कार्यान्वयनमा देखिएका आमनागरिकका गुनासो सम्बोधन गर्नेगरी संशोधनका लागि कार्यदल बनाउन र कार्यदलको सुझावअनुसार संशोधन विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा सहभागी उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले संविधानको मर्म, भावना र अन्तर्राष्ट्रिय मानवअधिकारका आधारभूत मान्यता प्रतिकूल नहुनेगरी कानुन निर्माण गर्न आग्रह गरे । बैठकमा सत्तारुढ दल नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले कानुन निर्माणमा विदेशी ‘आइएनजीओ’को प्रभाव चुनौती भइरहेको भन्दै कानुनको ‘ड्राफ्ट’ बनाउनेक्रममा सुरुकै चरणदेखि सचेततापूर्वक ध्यान दिन कानुन मन्त्राललको ध्यानाकर्षण गराए ।