काठमाडौं : काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिल(साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै फेरि पनि स्थानीय आन्दोलित भएका छन् ।
सास्ती भएको भन्दै आइतबार पनि सर्वसाधारणले थलीमा टायर बालेर प्रदर्शन गरेका छन । सवारी आवागन नै रोकेर सर्वसाधारण सरकारको काम गराईको विरोधमा सडकमा आएका हुन् । यसअघि सरकारसँग भएको लिखित सहमति अनुसार सडक कालोपत्रे नभएको भन्दै स्थानीयबासिन्दाले प्रदर्शन गरेका हुन् ।
विहान धुलो मेट्न हालेको पानीले हिलाम्य हुने यहाँका सडक दिउँसो धूलोले नै कुहिरीमण्डल बन्ने गरेका छन् । सडक निर्माणका लागि गिट्टी बालुवा सडकको बीच भागमा आईपुग्दा यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ । चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ ।
पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयबासिन्दाले निकै सास्ती भोग्नु परिरहेको छ । विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो ।