बटुक र चुकौनी, क्या मिठो हो, कागुनोको खिर । तरुवा, रिकीकुर, चाम्रे र याङ्बेन फाक्सा उस्तै मिठो छन् यी सबै चाख्दा । सारगेम्बा, गालेट, कागुनोको सलाद, एकपटक खाएसी आईरहन्छ याद ।
पाटन कृष्ण मन्दिरबाट अलिकति अगाडि छ, सौगलस्थान गणेश मन्दिर । मन्दिरबाट दायाँ गल्ली छिरेर ८, १० घर पर पुगेपछि दायाँपट्टी नै देखिन्छ कालो बोर्ड । जसमा लेखिएको छ, रैथाने । भिडभाड गल्लीको साँघुरो ढोकाबाट छिरेर निस्कीँदा भेटिन्छ खुला अनि शान्त ठाउँ । त्यसकै आडमा छ, ७० वर्ष पुरानो घर । घर भित्र पाकिरहेका छन् उस्तै पुरानो अनि नेपाली मौलिक स्वादको रैथाने परिकार ।
समूदायपिच्छे थिए आ आफ्नै मौलिक खाना । तर, अहिले फेरियो जमाना । बिर्सीए बनाउने तरिका त्यीनै लोप हुन लागेका परिकार प्रवद्र्धन गर्ने तीन युवाको चाहना । शहरमै मौलिक परिकारको स्वाद चखाउन, रुेथानेले पुरा गर्दैछ उनीहरुको सपना ।
स्वादे जिब्रो भएका प्रशान्त, सानैदेखि नयाँ परिकार चाख्न रुचाउँथे । त्यसैले उनी खोज र अनुसन्धानको तहसम्म पुगे र लेख्न थाले मौलिक खाना सम्बन्धि लेख । रैथाने रेष्टुरेन्टमा मौलिक खाना मात्रै होइन त्यसबारे वर्णन पनि गरिन्छ । खाद्य सामग्रीको गुण, विशेषतासँगै ल्याईएको ठाउँको पनि जानकारी दिईन्छ ।
रैथानेको मेनु सिजन अनुसार फेरिन्छ । पाटनको पुरानो गल्लीमा भएपनि यहाँ हिमाल, पहाड र तराईको स्वाद चाख्न पाईन् । तर, मौलिक संस्कृति र परम्परा मेटिँदै जाँदा पुराना परिकार बनाउने सामग्री पाउनै गाह्रो भएको बताउँछन्, रेष्टुरेन्ट संचालक प्रशान्त खनाल ।
रैथानेको अर्को विशेषता हो, पुर्नप्रयोग । जहाँ पुरानो घरलाई प्रवलिकरण गरिएको छ भने पानी पिउन टल्कने गिलास होईन सिसीहरु राखिएका छन् । नेपाली खानालाई विदेशी स्वादले विस्थापित गरिसकेको छ । जात र समूदाय अनुसार खानाको छुट्टै पहिचान हराउँदै गएको छ । त्यसैले नेपाली मौलिक खानाको स्वाद र जानकारी नयाँ पुस्तालाई दिन पाउँदा नै उनीहरु सन्तुष्ट देखिन्छन् ।