साग अन्तर्गत क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।  फाइनल प्रवेशका लागि जित्ने पर्ने बंगलादेशसँगको खेलमा शनिबार पराजित भएसँगै नेपाली टोलीको स्वर्ण जित्ने सपना टुटेको हो ।

त्रिवि क्रकेट मैदानमा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको हो । १५६ रनको विजय लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा मात्रै १११ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४३ बलमा ४३, दिपेन्द्र सिंह ऐरीले १३ बलमा १६ तथा अबिनाश बोहोराले १० बलमा १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । बंगलादेशका हसन महमुद, सुमोन खान र सौम्य सरकारले दुई–दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले पूरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १५५ रन बनाएको हो ।
बलियो बंगलादेशलाई १५५ रनमा रोक्न नेपालका पूर्व कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका उनले मात्र १५ रन खर्चेर बंगालादेशका तीन विकेट लिए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई र अभिनाश बोहराले थप एक विकेट लिए । बंगलादेशी टोलीका कप्तान नाजमुल हुसेन सान्तोले अविजित रहँदै अर्धशतकीय पारी खेले । ६० बलको सामना गरेका कप्तान नाजमुलले ७५ रन बनाए ।

यो जितसँगै बंगलादेश फाइनल पुगेको छ भने श्रीलंकासँग उसले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार