काठमाडौँ — गत साता हैदराबादमा सामूहिक बलत्कारपछि हत्या गरिएकी भेटरीनरी डाक्टरका बाबुले आफ्नी छोरीका बलत्कारी प्रहरी इनकाउन्टर मारिएको सुन्दा खुशी व्यक्त गरेका छन् । ‘हिन्दुस्तान टाइम्स’का अनुसार बलत्कारी मारिएपछि प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘मेरी छोरीको आत्माले शान्ति पायो ।’
बलत्कारीलाई सजाय दिएको भन्दै उनले प्रहरी र सरकारलाई धन्यवाद पनि दिएका छन् । दिल्लीमा बलत्कारपछि हत्या गरिएकी निर्भयाकी आमा आशादेविले पनि इन्काउन्टरमा बलत्कारी मार्ने प्रहरीको प्रशंसा गरेकी छन् । उनले यी प्रहरीहरुमाथि कुनै कारबाही नगर्न पनि माग गरेकी छन् । बलत्कारीलाई कारबाहीको माग गर्दै भारतभरि प्रदर्शनहरु भएका थिए ।
१० दिनअघि उनकी २६ वर्षिया छोरीको सामूहिक बलत्कारपछि हत्या गरिएको थियो । डाक्टरको बलत्कारपछि हत्या गरिएको ठाउँमै पुर्याएर प्रहरीले शुक्रबार बिहान उनीहरुको इन्काउन्टर गरेको थियो । मारिने बलत्कार आरोपीमा मोहम्मद आरिफ जोलु शिवा जोलु नवीनकुमार र चिन्ताकुन्ता चिन्ना केसाभुल्लु छन् । यी चारैजनालाई अपराधको ३६ घण्टामा तेलंगना प्रहरीले पक्राउ गरेको थियो ।