काठमान्डौ : अर्थमन्त्री युवराज खतिवडाले नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले निर्माण गर्न लागेको भवनको शिलान्यास गरेका छन् । नेवापसको कार्यालय भनिमण्डलमा आयोजित एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री खतिवडाले भवनको शिलान्यास गरेका हुन् । आगामी १० महिनाभित्र सो भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य नेवापसले जनाएको छ ।
भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले भौतिक निर्माण मात्र नभई वातावरण संरक्षण र नीति निर्माणको क्षेत्रमा नेवापससँग सहकार्य गर्न सरकार तयार रहेको बताए। उनले मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन सहकार्यको रूपमा बुझ्नुपर्ने जिकिर गरे। उनले गरिबी निवारण र वातावरण संरक्षण एकअर्कासँग जोडिएको भन्दै, ‘वन विनास, दुर्लभ वन्यजन्तुको तस्करी र खनिजको दोहन गरिबीसँग जोडिएको छ, त्यसैले राज्यले त्यसको व्यवस्थापन गर्नुपर्छ’ भने ।
वरिष्ठ पत्रकार भैरव रिसालले कार्य समितिलाई शुभकामना दिँदै समूहले विभिन्न काल खण्ड पार गर्दे वातावरणको क्षेत्रमा छुट्टै पहिचान बनाएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै नेवापसका अध्यक्ष कसमस विश्वकर्माले सरकारसँग नजिकमा रहेर वातावरण र विकासको मुद्दाहरू उठाउने र जनचेतना जगाउने काममा वर्षौदेखि लागिरहेको बताए। समूहसँग अहिले उपलब्ध स्रोतले भवन निर्माण गर्न नसकिने र सबैको सहभागिता र सहयोग आवश्यक रहेकोमा उनले जोड दिए।
भवन निर्माणका लागि नेवापसले ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेड र पि.सी. विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिटेडको संयुक्त उपक्रम (जेभी) सँग आफ्नो भवन निर्माणका लागि सम्झौता गरेको छ। १ करोड ५० लाख लागतमा नेवापसको भवन निर्माण हुन थालेको हो।
सम्झौता पत्रमा नेवापसका तर्फबाट अध्यक्ष कसमस विश्वकर्मा र नेवापसका भवन निर्माण समितीका संयोजक चन्द्रशेखर कार्कीले हस्ताक्षर गरेका छन् भने पि.सी. विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिटेडका निर्देशक दीपकराज नेपाल र ओम बुद्ध इन्जिनियरिङ प्रालिका निर्देशक सुनिल घिमिरले हस्ताक्षर गरेका छन्।