भारतमा बलात्कारपछि हत्यामा संलग्न चार जनाको प्रहरी इन्काउन्टर मा मृत्यु

काठमाडौं ः दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार जनाको प्रहरी इन्काउन्टर मा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।

तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीले बताएअनुसार शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा ‘भिडन्त’मा मृत्यु भएको हो ।

घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ । चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले बीबीसी तेलुगूलाई बताएका छन् ।

त्यहाँ उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी छ ।

प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले गोली हानिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

गत साता ती पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार