काठमाडौ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन २०२० पर्यटन वर्षको रुपमा मात्र नभएर पर्यटन क्षेत्रको आधार वर्षको रुपमा विकास गर्ने योजना सहित मनाउन लागिएको जानकारी दिनुभएको छ ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन राजनीतिक दलहरुसँग बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा छलफल गर्दै अवको एक दशक पर्यटनको लागि जोड दिने बताउनुभएको हो । उहाँले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने तथा पूर्वाधार निर्माणमा जोड दिने बताउनुभएको हो । उहाँले त्यसका लागि सबै राजनीतिक दलहरुलाई आफ्ना नेता, कार्यकर्ता, विदेश स्थित निकायहरुलाई परिचालन गर्नु आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले विदेश भ्रमणमा जाँदा कम्तीमा पनि भ्रमण वर्ष २०२० को बारेमा देशका तर्फबाट कुरा राख्न र उपाहार उपलब्ध गराउन मन्त्रालयसँग समन्वय गरेर मात्र जान आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारले मनाउन लागेको पर्यटन वर्षमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई मन्त्रालयले अवैतनिक स्वयंसेवकको रुपमा कृयासिल बनाउन सक्ने बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका नेता मोहन बस्नेतले राजनीतिक रुपमा विवाद नगरी पर्यटन वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सरकारलाई पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा जोड दिन समेत सुझाव दिनुभयो । कार्यक्रममा मन्त्री भट्टराईले २०२० को जनवरी १ मा राजधानी सहित सातै प्रदेशमा भव्य कार्यक्रम गरी भ्रमण वर्षको औपचारीक सुरुवात गर्न लागिएको समेत जानकारी दिनुभयो ।