काठमान्डौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखलाई आग्रह गरेका छन् ।
मन्त्री भट्टराईले राजदुत र वैदशिक साझेदार संस्थाप्रमुखलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर भ्रमण वर्ष सफल पार्न अपिल गरेका हुन् । मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थीतिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै पर्यटनमन्त्रीहरुलाई उपस्थित गराइदिनका लागि पहलकदमीका अनुरोध समेत गरेका छन् । बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरुको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्रवान गरे ।
उनले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिनु हुदै १५ औं पञ्चबर्षिय योजना सम्पन्न हुदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेका जानकारी गराए । उनले विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरीरहेको उल्लेख गर्नु हुदै अब ८० डलर खर्च गराउने र बार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको जानकारी दिए।
आगामी २०२० मा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए। त्यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको बिषयमा लगानी बोर्डले काम गरिरहेको उल्लेख गरे। कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरुलाई स्वागत गर्दैै विश्वभरी भ्रमण वर्ष–२०२०को प्रबद्र्धनका लागि अनुरोध गरे। नेपाल भ्रमण वर्ष–२०२०का संयोजक सुरज वैद्यले नेपालको पर्यकीय स्थलहरुको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीको बारेमा जानकारी दिए।
यता कार्यक्रममा सहभागी राजदुतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरुमा चीन दोस्रो रहेको बताउँदै भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाइन् । नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै, अष्ट्रेलियाका राजदुत पिटर ग्रेम बाड, जर्मनीका राजदुत रोलाण्ड साफर, जापानका राजदुत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने बताए।