काठमाडौं । थुलुङ राईहरुको करोडौं पर्ने साझा जग्गा विक्रीको रकममा लाखौं रुपैयाँ घोटला भएको पाइएको छ । आफूलाई थुलुङ राईहरुको आधिकारीक साझा संस्था दाबी गर्ने ‘थुलुङ (राई) सामा’ले जग्गा विक्रीको रकममा लाखौं घोटला गरेको खुलेको हो ।
जग्गा विक्रेता सामाका कार्यवाहक अध्यक्ष राम थुलुङले भक्तपुर नंलेखमा रहेको ४० आना साझा जग्गा कूल १ करोड ८५ लाख रुपैयाँमा विक्री गरिएको बताएपनि जग्गा खरिद गर्ने बाराही प्रपर्टी हाउजिङ्ग एण्ड लिजिङ्ग कम्पनीका मार्केटिङ्ग प्रमुख छवि बोहोराले कूल २ करोड ३३ लाखमा उक्त जग्गा लिएको बताएपछि घोटलाको रहस्य खुलेको हो ।
जसअनुसार जग्गा विक्री प्रक्रियामा २१ लाख ४० हजारभन्दा बढी रकम हिनामिना भएको तथ्य फेला परेको छ । जग्गा विक्रीका क्रममा घोटला भएको भन्दै आपत्ति जनाउँदै आएका असन्तुष्ट पक्षले ‘थुलुङ राई समुदायको हिनामिना जग्गा संरक्षण सरोकार समिति’ नै बनाएर अघि बढेको छ ।
सामाकै संस्थापक सचिव तथा आजीवन सदस्य जनीकुमार राईको संयाजकत्वमा गठित उक्त समितिले संस्थाको विधान विपरीत स्वार्थ पूर्तिका लागी एकलौटी निर्णयबाट उक्त जग्गा विक्री गरिएको बताएको छ ।
हिनामिना जग्गा संरक्षण सरोकार समितिका संयोजक जनीकुमार राईले भन्नुभयो ‘निर्धा्रित समयभित्र महाधिवेशन गर्न नसकी अवैधानिक भइसकेको सामाको केन्द्रीय समितिले जग्गा बेचेर लाखौँ घोटाला गरेको छ । थुलुङ समुदायको नाम बेचेर खानेहरुविरुद्व सबै थुलुङ समुदाय एकतावद्व हुन जरुरी छ ।’
नेपाल न्युज साईटसँग कुरा गर्दै उहाँले थप्नुभयो ‘यो अवैधानिक समितिका सीमित व्यक्तिहरुले व्यक्तिगत आर्थिक लाभका लागि जग्गा बेचेका हुन् ।’
उक्त जग्गाको मूल्य सामाको पदाधिकारीले दाबी गरेजस्तो त्यति धेरै कम हुनै नसक्ने भन्दै यसमा एउटा गिरोह समूह नै बनाएर लाखौँ रकम हिनामिना गरिएको संयोजक राईको दाबी छ ।
जग्गा विक्रीबारे यसो भन्छन् सामाका कार्यवाहक अध्यक्ष राई
जग्गा विक्रीबारे कार्यवाहक अध्यक्ष राम थुलुङ राईले भने संस्थाको विधानुसार सबै प्रक्रिया पुर्याएर जग्गा विक्री गरिएको बताउनुभएको छ।
नेपाल न्युज साईटसँग उहाँले भन्नुभयो ‘संस्थाप्रति नकारात्मक धारणा राख्ने केहीले यो विषयलाई अनावश्यक टिप्पणी गरिरहेका छन् । वर्तमान समिति पनि वैधानिक नै हो । निर्धा्रित समयभित्र महाधिवेशनबाट नयाँ कार्य समिति चुन्न सकिएन भने म्याद थप गर्ने प्रावधान पनि विधानमा छ । सोहीअनुसार अहिलेको समितिलाई अवैधानिक भन्न मिल्दैन ।’
उहाले थप्दै भन्नुयो ‘हामी सबैको सल्लाह अनुसार राम्रो मूल्य पाएकाले यो जग्गा बेचेको हौं । विक्रीबाट प्राप्त रकम संस्थाकै खातामा छ । जग्गाको पैसा एक रुपैयाँ पनि हिनामिना भएको छैन ।’
जग्गाको भौगोलिक अवस्थाअनुसार एक करोड ८५ लाख मूल्य पनि राम्रो पाएको सामाका कार्यवाहक अध्यक्ष राईको दाबी छ ।