सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक आयोजना गर्न लागेको वित्तीय सम्मेलनको तयारी पूरा भएको जनाएको छ । आगामी मंसीर २० गते धनगढीमा आयोजना हुने एक दिने वित्तीय सम्मेलनमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, बैंक तथा वित्तीय संस्था, बीमा, सहकारीसहित ४ सय ५० जना सहभागी हुने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दीएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँचको समीक्षा गर्ने, बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा कम्पनीलाई कसरी यस प्रदेशमा सेवा विस्तार गर्न लगाउने भन्ने विषयमा छलफल गरिने जानकारी दीए ।
“यस प्रदेशमा समयमै वित्तीय पहुँच किन पुग्न सकेन, कहाँ ग्याप भयो, संघीय सरकारले कस्तो सहयोग गर्छ भन्ने विषयमा प्रदेश सरकारले बुझ्नेछ,” उनले भने, “यो सम्मेलनले यस प्रदेशमा वित्तीय पहुँच बढाउन र पूँजी निर्माणमा ठूलो सहयोग पुर्याउनेछ ।”
८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा ८३ वटा स्थानीय तहमा वित्तीय सेवा पुगेको छ भने पाँच वटा तहमा अझै पुग्न बाँकी छ ।
सम्मेलनमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, संघीय सरकारका उद्योग मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, पर्यटन मन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपाल, सातै वटा प्रदेशका अर्थमन्त्री, विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, ८८ वटै स्थानीय तहका प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ ।