आयुर्वेदिक पद्धतिबाट यी रोगको उपचार

आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति हो । आयुर्वेदको सिद्धान्तअनुसार शरीर, मन र आत्माको सन्तुलनमा मानव स्वास्थ्य निर्भर छ । त्यस्तै, शरीरमा हुने तीन दोष वात, पित्त र कफका कारण शारीरिक असन्तुलन पैदा हुन्छ । आयुर्वेदिक चिकित्सा पद्धति पछिल्लो समयमा चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको छ । आयुर्वेद औषधि प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ ।

खासगरी, बोटबिरुवा, जनावर र खनिजपदार्थ आयुर्वेदिक औषधिका स्रोत हुन् । जो कच्चा पदार्थ संकलन, प्रशोधन गरेर वा सीधै प्रयोगमा ल्याइन्छ । आयुर्वेद औषधिमा केमिकलको प्रयोग गरिँदैन । त्यसैगरी, यसको सेवनबाट अन्य असर हुँदैन । आयुर्वेदिक चिकित्साअन्तर्गत विभिन्न पद्धतिबाट उपचार गरिन्छ ।

निम्न रोगको उपचार

आयुर्वेद उपचार पद्धतिबाट सबैखाले रोगको उपचार गर्न सकिन्छ । खासगरी, ब्याक्टेरियल, भाइरल र फन्गल इन्फेक्सनजस्ता सरुवा रोगको उपचार सम्भव छ । जडिबुटीजन्य औषधिबाट यस्ता रोग निको पार्न सकिन्छ ।
आयुर्वेद औषधिको प्रयोगले रोग निको हुन बढी समय लाग्छ भन्ने आममानिसमा भ्रम रहेको पाइन्छ । जुन सत्य होइन । अनुपात (कुन वस्तुसँग के मिसाएर खाने भन्ने) मिलाएर यस्ता औषधि सेवन गरेमा छोटो समयमै रोग निको हुन्छ ।
नसर्ने रोग अहिलेका विकराल समस्या हुन् । जीवनशैली र रहनसहनका कारण यस्ता रोग बल्झिने गर्छन् । तसर्थ, उपचारसँगै जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ । जो आयुर्वेद उपचार पद्धतिसँग जोडिएको हुन्छ । हरेक रोगका लागि विशेष औषधि बनाइएका हुन्छन् । रोगको अवस्था हेरेर चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दा विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

उपचार पद्धति
औषधि तथा जडीबुटी
आर्युवेदिक औषधिको प्रयोगबाट जुनसुकै रोगको उपचार सम्भव छ । रोगको अवस्था हेरेर जडिबुटीको प्रयोग गरी रोगबाट बच्न सकिन्छ । भुइँअमला, त्रिफला, चिराइतो, कुटकी, तितेपाती, निम, सतावरी, अतिसार, बेल, पाँचऔलै, मधुमेहा, अश्वगन्धा आदि मुख्य जडिबुटी हुन् । यस्ता जडिबुटीको प्रशोधन गरेर विभिन्न रोगको औषधि बनाइने गरिन्छ ।

योग
योग शारीरिक, मानसिक तथा आध्यात्मिक अनुशासन हो । जसको माध्यमले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । योग एक उपचार पद्धति पनि हो, जसको माध्यमबाट विभिन्न समस्याबाट राहत पाउन सकिन्छ । स्त्रीरोग, हृदयरोग, अम्लपित्त, गठिया बाथ, नसाका समस्या, कम्मर र ढाडका समस्याका साथै मानसिक रोगका लागिसमेत प्रभावकारी मानिन्छ ।

पञ्चकर्म
आर्युवेदिक मान्यताअनुसार कुनै पनि औषधिको प्रयोग गर्नुभन्दा अगाडि पञ्चकर्म गर्न आवश्यक छ । पञ्चकर्मको माध्यमबाट हाम्रो शरीरका बिकार वस्तु बाहिर निकाल्न सकिन्छ । पञ्चकर्मभित्र धेरै विधा पर्छन् । जसमध्ये वमन, विरेचन, शिरोधरा, अनुवासन वस्ती र निरुह प्रमुख हुन् ।

क्षारसूत्र
क्षारसूत्र आयुर्वेदको मुख्य उपचार पद्धति हो । विभिन्न क्षारको प्रयोग गरी पायल्स, फिस्टुला, कुष्टरोग, ट्युमर, साइनसजस्ता रोगको उपचारका लागि प्रभावकारी मानिन्छ । औषधियुक्त धागोको प्रयोग गरी उपचार गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार