काठमाडौं । घरेलु मूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले आज १३ स्वर्ण पदक जितेको छ । काठमाडौं, पोखरा र जनकपुरमा भइरहेको सागमा नेपालले आज एकै दिन १३ स्वर्ण जित्दै नयाँ किर्तीमान कायम गरेको छ ।
नेपालले कराँतेमा ७, तेक्वान्दोमा ५ र ट्रायथलनमा १ गरी १३ स्वर्ण जितेको हो । कराँतेकी अनु अधिकारीले नेपाललाई १३ औं स्वर्ण दिलाइन् । कराँतेकी अनुसँगै कुसुम खड्काले २–२ स्वर्ण हात पार्दा १३ ओटा स्वर्ण जित्न सफल भएको हो ।
यस्तै करातेकै विप्लवलाल श्रेष्ठले नेपाललाई दशौं स्वर्ण दिलाएका थिए । कराँतेको कुमुतेतर्फ ८४ तौलमाथिको समूहमा उनले स्वर्ण जितेका हुन् । काता तर्फ पुरुष र महिला टिमले पनि स्वर्ण जितेको छ ।
यस्तै, करातेको ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । यता तेक्वान्दोर्फ नै नेपालले अहिलेसम्म चार स्वर्ण हात पारेको छ । पुम्से २३ देखि २९ बर्षको समुहमा कमल श्रेष्ठले स्वर्ण जित्दा पुम्सेतर्फ नै महिलामा पावर्ती गुरुङले २३ देखि २९ बर्षको समुहमा स्वर्ण हात पारिन् ।
यस्तै, ११ औं सागमा स्वर्ण पदक हात पारेकी आयशा शाक्यले तेक्वान्दोमा पुम्सेमा २९ बर्षमाथिको समुहमा नेपाललाई स्वर्ण दिलाइन् । यो सँगै उनले सागमा दुई स्वर्ण हात पारेकी छन् । पोखरामा भइरहेको ट्रायथलमा सोनु गुरुङले नेपाललाई स्वर्ण दिलाएकी छन् ।