काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपन गरिने भएको छ । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि मृगौला दिन दुई जना नातेदार तयार भएका छन्।
प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहका अनुसार मृगौल दिन तयार हुनेमा एक पुरुष र एक महिला रहेका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया भएका कारण घाउ निको हुन ढिला हुने भएकाले मृगौला प्रत्यारोण भने पछि धकेलिएको डा. शाहले बताउनुभयो ।
मृगौला प्रत्यारोपण कहाँ गर्ने भन्नेबारे टुंगो नलागेको उहाँले जानकारी दिनुभयो । अहिले नेपालमै मृगौला प्रत्यारोपण हुने भएकाले नेपालमै गर्ने वा बाहिर जाने भन्नेबारे पनि छलफल चलिरहेको डा. शाहको भनाइ छ ।
मृगौला प्रत्यारोपणको तयारी हुँदै गर्दा अकस्मात एपेन्डिसाइटिस भएपछि गत मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको छ ।
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले दोस्रो पटक मृगौला प्रत्यारोण गर्न लागिएकाले निकै जटिल भएको र यस कुरामा आफूहरु संवेदनशील रहेको बताउनुभएको छ ।
यसअघि दुवै मृगौला फेल भएपछि १२ बर्षअघि भारतमा ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो ।