थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष राई जर्मन प्रस्थान

सोलुखुम्बु : जिल्लाको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई युरोप भ्रमणका क्रममा आज जर्मन प्रस्थान गर्नुभएको छ । जर्मन सरकारले आयोजना गरेको संयुक्त राष्ट्रसंघको इन्टरनेट गभर्नन्स फोरम (आईजीएफ) मा भाग लिन अध्यक्ष राई बर्लिन जानुभएको गाउँपालिकाले जनाएको छ ।

२५ नोभेम्बरमा सुरु भई २९ नोभेम्बर सम्म सञ्चालन हुने फोरममा ग्रामीण क्षेत्रमा इन्टरनेटको महत्वको बिषयमा छलफल हुनेछ । गाउँपालिका अध्यक्ष राईले ग्रामीण क्षेत्रको सेवा प्रवाहमा इन्टरनेटको महत्वको बारेमा प्रस्तुतीकरण गर्नुहुने कार्यतालिका रहेको छ ।
यस्तै अध्यक्ष राई जर्मनहुदै फ्रान्स, पोल्याण्ड लगाएत करिब ७ वटा देशको भ्रमण गर्ने कार्यतालिका रहेको बताईएको छ । त्यस क्षेत्रमा भएको बिकासको प्रकृतिको अध्ययन गरि गाउँपालिकामा समेत प्रयोग गरिने अध्यक्ष राईले बताउँनुभयो । कार्यक्रममा सहभागी हुने नेपाली सरकारी प्रतिनिधि अध्यक्ष राई रहनुभएको छ भने अन्य केही निजि कम्पनीका प्रतिनिधि रहेको बताईएको छ ।

यस अघि गत असारमा एसिया प्यासिफिक रिजनल इन्टरनेट गभरमेन्ट्स फोरमले रसियाको भ्लाडिभस्टकमा आयोजना गरेको एक कार्यक्रममा अतिथि बक्ताको रुपमा जानुभएको थियो । ‘ई गभरमेन्ट फर सिटिजन इम्पावरमेन्ट अफ रुरल मनिसिपालिटी’ विषयमाथि अतिथि बक्ताको रुपमा उहाँ असार २९ गते रसिया जानुभएको थियो ।

यस्तै अघिल्लो बर्ष उहाँ गाउँपालिकाको प्रतिनिधित्व गर्दै चीन भ्रमणमा जानुभएको थियो । विदेश भ्रमणमा जाँदा त्यस क्षेत्रमा भएको बिकास निर्माणको अध्ययन गरि आफ्नो स्थानीय तहमा लागु गर्न सहज भएको उहाँको भनाई छ । विभिन्न राष्ट्र सम्बृद्ध हुनुको कारण पहिचान गरि सोही अनुसार गाउँपालिकालाई सम्बृद्ध बनाउने अध्यक्ष राईको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार