काठमाडौं । नेपाली भूमि अतिक्रमणको बिषलाई लिएर सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसबीच आरोप प्रत्यारोप बढ्दै गएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपको खण्डन गर्नुभएको छ ।
हिजो देउवाले पोखरामा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा ‘कालापानी र लिपुलेक प्रधामन्त्री ओलीकै सहमतिमा राखिएको भन्ने आरोप लगाउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ कास्कीले आज गरेको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले त्यसको खण्डन गर्नुभएको हो । उहाँले नाकाबन्दीमा एक शब्द बोल्न नसकेको कांग्रेस अहिले ठुल्ठुलो स्वरले कुरा गर्न थालेको टिप्पणी गर्नुभयो ।
सर्वपक्षीय बैठकमा भने आफैले राष्ट्रियताको विषयमा एकमत हुने निर्णय गर्ने अनि सार्वजनिक रुपमा भने सरकारलाई दोषी देखाउने भन्दै मन्त्री बाँस्कोटाले देउवाको चर्को आलोचना गर्नुभयो ।