काठमाडौं । मिर्गौला रोगका पीडितहरुले आफूहरुलाई उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पूर्ववत रुपमा उपलब्ध गराउन माग गर्दे प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन् ।
मिर्गौला रोगबाट पीडित सरोकार समाजको नेतृत्वमा आज बालुवाटार पुगेका पीडितहरुले जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् ।
१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए । प्रधानमन्त्री स्वयम् मिर्गौला रोगबाट पीडित भएर पनि आफूहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी नै दिएका छन् ।
प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै पीडितहरुले आन्दोलनको घोषणा गरेका छन् । आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडीतका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले प्रधानमन्त्री प्रति आक्रोश व्यक्त गरेका थिए ।
पीडीतहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, निशुल्क हेमोडाइलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग राखेका छन् ।
उनीहरुले माग सम्बोधन नभए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताएका छन् ।