तेस्रो पटक दुधकोशी सामुदायिक अस्पताललाई निशुल्क जग्गा प्राप्त

सरिता राई
सोलुखुम्बु :  दुधकोशी सामुदायिक अस्पताललाई पुःन तेस्रो पटक करिब डेढ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ । थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीमा निर्माण हुने अस्पतालको लागि स्थानीय सौरब किराँत थुलुङ्ग राई र भिषण कुमार राईले संयुक्तरुपमा उक्त जग्गा प्रदान गर्नुभएको हो ।

एकै परिवारका दुई दाजुभाईले अस्पतालको नाममा ७६४ वर्गमिटर जग्गा आज रजिष्ट्रेशन पास गरिदिएको गाउँपालिका अध्यक्ष एवम् अस्पताल सञ्चालक समितिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । यस अघि स्थानीय ललितबहादुर राई र भिमबहादुर राईले करिब १५ रोपनी जग्गा अस्पतालको नाममा रजिष्ट्रेशन पास गरिसकेका छन् ।

उक्त जग्गामा भवन निर्माणका लागि रौता कुवर जेभिलाई जिम्मा दिईएको छ । असोज अन्तिम सातामा खोलिएको टेण्डरमार्फत उक्त कम्पनीले रु.१० करोड १० लाख ७२ हजारमा स्टामेट अनुसारको भवन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । आईसियू सेवा सहितको अस्पताल निर्माणाका लागि सहयोगार्थ महायज्ञ समेत आयोजना गरिएको थियो । उक्त महायज्ञ संगै अस्पताल भवनको रक्षा मन्त्री इश्वर पोखरेल र प्रदेश एकका मुख्य मन्त्री शेरधन राईले संयुक्त रुपमा शिल्यान्यस गर्नुभएको थियो ।

कुन समयमा कति जग्गा रजिष्ट्रेशन भयो ?
गाउँपालिका केन्द्रमा सुविधा सम्पन्न अस्पताल बन्छ भन्ने सुनेका स्थानीयले दिएको बचन अनुसार २०७५ माघ १५ गते करिब १३ रोपनी जग्गा दुधकोशी सामुदायिक अस्पतालको नाममा रजिष्ट्रेशन भएको छ ।

स्थानीय भिमबहादुर राई सहितको परिवारले आफ्नो घरबारीनै अस्पतालको नाममा रजिष्ट्रेशन गरिदिएका हुन् । यस्तै २०७५ साल चैत २० गते दोस्रो पटक स्थानिय हितबहादुर राई र ललितबहादुर राईले करिब ३ रोपनी जग्गा रजिष्ट्रेशन पास गरिदिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार अहिले सम्म करिब १८ रोपनी जग्गा अस्पतालको नाममा रजिष्ट्रेशन भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार