बिना अनुमति आमादब्लम हिमालको चुचुरोमा झण्डा फहराईयो

सोलुखुम्बु : आमादब्लम हिमालको चुचुरोमा बिना अनुमती अहिले सम्मकै बिशाल झण्डा फहराईएको छ । बुधबार कुवेतको आरोही टोलीले करिब १ सय ५० केजीको झण्डा उक्त चुचुरोमा फहराएको हो ।

१ सय मिटर लम्बाई र ३० मिटर चौडाई भएको उक्त झण्डालाई ६ टुक्रामा विभाजित गरेर त्याहाँ पु¥याईएको श्रोतले जनाएको छ । कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाको टोलीले झण्डा फहराउन कुवेती दललाई सघाएको पाईएको छ । पुर्जाले मंगलबार इन्स्टाग्राममा अमादब्लमको फोटो पोष्ट गर्दै ‘उच्च जोखिम मोलेर असम्भव कार्यलाई सम्भव पार्न लागिएको’ बताउँनुभएको थियो । अहिले इन्स्टाग्राममा कुवेती आरोहीको प्रशंसा भईरहेको छ ।

क्यानेडियन आरोही इलिया साइकालीले इन्स्टाग्राममा कुवेतीहरूको मेहनत धैर्यसाथ हेरेको उल्लेख गर्नुभएको छ । तर उनीहरूले देखाएको राष्ट्रप्रेमको सम्मान गरेपनि उक्त काम निरर्थक लागेको उल्लेख गरेका छन् । ६ हजार ८ सय २८ मिटर उचाईको उक्त हिमालमा झण्डा फहराईएको दुई दिन नबित्दै आलोचना हुनथालेको छ । हिमाल आरोहणका विषयमा कलम चलाउँदै आएका अमेरिकी आरोही तथा ब्लगर एलेन एर्नेतेले उक्त कार्यको आलोचना गरेका छन् । चाहे सगरमाथा होस वा कोलोराडोको चट्टान, प्राकृतिक सम्पदालाई विरुप पार्नेबाहेक त्यस्ता कार्यको कुनै अर्थ नहुने भन्दै कडा आलोचना गर्नुभएको छ ।

‘के–फ्ल्याग’ नामक मिसन बोकेर झण्डा फहराउन अमादब्लम पुगेको कुवेती टोलीले पर्यटन विभागसँग अनुमति भने लिएको छैन । बुधबार दिउँसोतिर यसबारे जानकारी पाएको भन्दै पर्यटन विभाग, पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले अन्य कुनै निकायसँग अनुमति लिएको भए प्रमाण पेश गर्न भनिसकेको बताउँनुभयो । उहाँले बुधबार नै उक्त झण्डा हटाइसकिएको बताउँदै कुवेती टोली खुम्बुबाट काठ्माण्डौं फर्कदै गरेकाले उनीहरूलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल भईरहेको बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार