काठमान्डौ : नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रौतहटले आदेश दिएको छ । एक साता लामो बहस टुंगिएपछि शुक्रबार न्यायाधीश दीपक ढकालको एकल इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
उनलाई गौर कारागारमा राख्न पनि आदेशमा लेखिएको छ । विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेकोसहित तीनवटा मुद्दामा भएको थुनछेक बहसपछि अदालतबाट यस्तो आदेश आएको हो । पुर्पक्षका लागि अदालतले थुनामा पठाएसँगै आलमको सांसद पद स्वतः निलम्बनमा परेको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासबाट आदेश जारी गर्नुअघि अदालत आसपास र गौर क्षेत्रमा सुरक्षा अत्यन्त कडा पारिएको थियो । आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव बिथोल्न जिल्लाकै राजपुरमा बम बनाउने क्रममा विस्फोटमा परेर घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोग लागेको छ ।