काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यकारी अध्यक्ष जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिने तयारी अघि बढेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्रको एकता पछि बनेको नेकपाले अब एकल कार्यकारी अध्यक्ष पाउने भएको हो ।
मन्त्रमण्डल हेरफेरको तयारीमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँग छलफल गर्नुभएको थियो ।
दाहाल र नेपालसँगको छलफलपछि आज(शुक्रबार)को सचिवालय बैठकमा मन्त्रीहरुका बारेमा अन्तिम निर्णय गर्ने र नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी समेत प्रचण्डलाई दिने बिषयमा नेताहरुबीच छलफल भएको थियो ।
हिजो ओली र प्रचण्डबीच भएको छलफलअनुसार आज कै सचिवालय बैठकबाट निर्णय गरेर प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तानतरण गर्ने सहमति भएको थियो । दुई नेताबीच एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने यसअघि नै सहमति भएको थियो ।
तर, आजका लागी बोलाइएको सचिवालय बैठक अनिश्चित भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालका अनुसार आज सचिवालय बैठक बस्ने भनिएपनि अहिलेसम्म समय तोकिएको छैन ।