काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरुवाको विषयमा कर्मचारीहरुबाट आफूलाई धम्की आएको बताउनुभएको छ । सरुवा गर्न खोज्दा आफूलाई एक सहसचिव तहको कर्मचारीले ‘सबैभन्दा खराब मन्त्री’ भन्दै उहाँले ‘तलाई थुक्छु’ समेत भनेको गुनासो गर्नुभयो ।
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक’माथिको दफावार छलफलका क्रममा मन्त्री पण्डितले यस्तो बताउनुभएको हो ।
मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने मन्त्री पण्डितको भनाइ छ । उहाँले एउटा कर्मचारी वर्षमा दुई सय १० दिनसम्म विदेश भ्रमणमा गएको पाएको जिकिर गर्दै यस्तो कर्मचारी प्रशासनबाट काम नचल्ने समेत बताउनुभयो ।
छलफलका क्रममा समितिका सदस्यहरुले ज्येष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताका आधारमा कर्मचारीको बढुवा गर्नुपर्नेमा जोड दिएका थिए ।