काठमाडौँ : काठमाडौँ महानगरपालिका भित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालनमा रोक लगाएको छ । विद्यार्थी सङख्याका आधारमा गुणस्तरीय शिक्षा नहुने भन्दै महानगरले भएका विद्यालयलाई व्यवस्थित गर्ने जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् ।
ती विद्यालयमा एक लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।
कानूनीरूपमा नै विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यस किसिमको व्यवस्था गरेको काठमाडौँ महानगरपालिका शिक्षा विभागकी प्रमुख निर्मला केसीले बताउनु भएको छ । नयाँ विद्यालय सञ्चालन गर्नुभन्दा पनि भएकालाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेकाले यस किसिमको कार्य अघि बढाइएको उहाँको भनाई छ ।