सोलुखुम्बु : देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट शरद ऋतुमा छ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट उक्त रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् । आरोहिले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी २७ समूहका ३१६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट एक कारोड ४० लाख ३६ हजार ३०० रुपैयाँ रोयल्टी संकलन भएको छ । सबैभन्दा बढी रोयल्टी मनास्लु हिमाल आरोहण अनुमतिबाट संकलन भएको छ । यस हिमाल आरोहण संकलनबाट दुई करोड ७० लाख ८५ हजार ६०० रोयल्टी संकलन भएको विभागले जनाकारी दिएको छ ।
मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन् । त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट ३२ लाख ८ हजार ५ रुपैयाँ रोयल्टी संकलन भएको छ । उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन् । थापा पिक आरोहण अनुमतिबाट ११ लाख ८९ हजार ३१२ रुपैयाँ संकलन भएको छ । वसन्त ऋतुमा आरोहीको घुइँचो लाग्ने सगरमाथा आरोहणको लागि शरद ऋतुमा दुई समूहका १० जनाले मात्र अनुमति पाएका थिए । उनीहरुबाट ६३ लाख ११ हजार ८०० रुपैयाँ रोयल्टी संकलन भएको छ। लामो समयपछि शरद ऋतुमा सगरमाथा आरोहणका लागि गए पनि सफल हुन नसकेको निरौलाले बताए ।