भरुवा बन्दुकको छर्रा लाग्दा युवकको ज्यान गयो

ओखलढुंगा : भरुवा बन्दुकको छर्रा लागेर बादर धपाउन गएका एक युवकको मृत्यु भएको छ । बादर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर मोलुङ गाउँपालिका ३ का १७ वर्षीय लालमान तामाङको ज्यान गएको ओखलढुगां प्रहरीले जनाएको छ ।

बन्दुकको छर्राले लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा सिन्धुलीको खुर्कोटमा ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । बाँदर धपाउन गएका समूहमध्येका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई प्रहरीले नियन्त्रण लिएको छ भने दुईथान भरुवा बन्दुक समेत बरामत गरेको प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीसंगै गएका २२ वर्षीय सबिन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय रुकमान तामाङ भने फरार छन् ।

घटनापछि प्रहरीलाई खबर नै नगरी मृतकको शवलाई घरतर्फ लैजाँदैै गरेको सूचनाका आधारमा प्रहरीले सोमबार दिउँसो सिद्धिचरण नगरपालिका ११ को रमाइलो डाँडाबाट शव नियन्त्रणमा लिइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार