झापा : झापाको भद्रपुरमा आइतबार स्थानीय बिदा दिएको छ । नगरपालिकाले शुक्रबार सूचना प्रकाशन गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कातिक १६ गते शनिवार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र कातिक १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ मनाइँदै छ । शनिबार सार्वजनिक बिदा भएकोले नगरपालिकाले यसवर्ष आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिका प्रशासकीय अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो ।
उहाँले हस्ताक्षर गरेको सूचनामा उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्न व्रतालु भक्तजनहरूको सुविधालाई ध्यानमा राखी हर्सोउल्लासका साथ छठ मनाउन नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सबै निकाय र विद्यालयहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको उल्लेख छ । नगरपालिकाले गतबर्षदेखि भद्रपुरको छठ पूजामा सार्वजनिक बिदा दिँदै आइरहेको छ ।