फाप्लु अस्पतालमा उचार सेवा नपाएको गुनासो, संसादकै कुरा सुनुवाई हुदैन !

भोजराज कार्की –
सोलुखुम्बु : जिल्लाको माप्यदुधकोशी गाउँपालिका ७ वाप्साकी सुन्तली मगर जिल्ला अस्पताल फाप्लुबाट फर्कदै गरेको अवस्थामा भेटिनुभयो । गाउँको स्वास्थ्य चौकीमा उपचार संभव नभएपछि डेढ दिनको यत्रापछि जिल्ला अस्पताल फाप्लु पुगेपनि चिकित्सक नहुँदा उपचार नगराई फर्कनुपरेको उहाँले गुनासो गर्नुभयो ।

पछिल्लो समय हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र जिल्ला अस्पताल फाप्लुमा चिकित्सक नहुँदा समस्या भएको छ । स्वास्थ्यकर्मीको समायोजन संगै जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो । यसमा नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ र जन स्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को ३ समेत आकर्षित हुन्छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा शुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रुपमा प्राप्त गर्ने अधिकार अधिकार किटान गरेको छ । तर यहाँ जिल्ला अस्पतालमा आउँदा समेत सहज सेवा नपाएको स्थानीय नागरिकको गुनासो छ ।


गाउँगाउँको स्वास्थ्य चौकीबाट रिफर हुने अधिकांश विरामीको आशा र भरोसाको केन्द्र जिल्ला अस्पतालमानै चिकित्सक नहुँदा यहाँका नागरिक बाह्य जिल्ला जान बाध्य छन् । उपचारको लागि अस्पताल पुगेपनि सामान्य उपचार समेत नहुँने भएपछि ओखलढुंगाको मिसन अस्पताल या काठमान्डौनै जानुपर्ने बाध्यता रहेको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाकी जन्ता राईले बताउँनुभयो ।

विगतको दिनमा गर्भवती महिलाको अप्रेसन समेत जिल्ला अस्पतालमै हुन्थ्यो भने अहिले मिसन अस्पतालको बिकल्प छैन । जुन अस्पताल सबैभन्दा नजिक हो तर सदरमुकामबाटै जिप मार्फत ३ घण्टा हिड्नुपर्छ ता कि जिल्ला सदरमुकाम आईपुग्नै गाउँबाट एक दिन पुरै जिपको यात्रा गर्नुपर्छ । कुनै समय ११ औँ तहको विशेषज्ञ डक्टर सहित ३५ जना स्वास्थ्यकर्मीले काम गरेको सोही अस्पतालमा अहिले ९औँ तहको चिकित्सक सहित १८ जनाको दर्वन्दि कायम गरिएको छ ।

देश संघिय संरचनामा गएसंगै जिल्ला अस्पतालको जिम्मेवारी समेत प्रदेश सरकार मातहतमा गयो । त्यसैको फलस्वरुप यहाँको दर्वन्दि समेत कटौती भएको छ । कुनै समय करारका सहित पाँच जना डक्टरले सेवा दिएको जिल्ला अस्पताल फाप्लुमा अहिले एक जना मात्रै मेडिल अधिकृत डक्टर रमिन महर्जन कार्यरत हुनुहन्छ । उहाँको समेत समायोजनमा ललितपुर दर्वन्दि कायम भईसकेको छ । अहिले जिल्ला अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी सह्माल्नुभएका डक्टर महर्जनले समेत बरबुजारत लिने कर्मचारी नभएकै कारण बाध्यता बस्नुपरेको बताउँनुहुन्छ ।

सेवा होईन सास्ति ।
समायोजनको क्रममा जिल्ला अस्पताल फप्लुका लागि कसैलेपनि रोजेका छैनन् । जसले गर्दापनि यहाँ समस्या थपिएको डक्टर मर्जनको भनाई छ ।। दक्ष जनशक्ति थप गर्नुपर्नेमा ११ औ तहबाट ९ औ तहमा झारेर कसरी सेवा पुग्यो ? यहाँका स्थानीयको प्रश्न यहि छ । वाकुँका रत्नबहादुर राईले गाउँगाउँमा सिंहदरबार भनेपनि सेवा सुविधा कटौती भएको गुनासो गर्नुृभयो ।


१८ जनाको दर्वन्दिमा पनि अहिले १० जना मात्र कार्यरत हुँदा यहाँका नागरिकले सेवा होईन सास्ती खेप्नु र अन्यत्र जानुको बिकल्प छैन । एक जना मेडिकल असिस्टेन्ट, २ जना स्टाफ नर्स, दुई जना ल्याब असिस्टेण्ट, एक जना अहेव, एक जना डार्क असिस्टेण्ट र ३ जना कार्यालय सहयोगी कार्यारत छन् । भने मेडिकल अफिसर, १ जना स्टाफ नर्स, २ जना अहेव, २ जना एएनएम (अनमी) र प्रशासन तर्फको कर्मचारी रिक्त रहेको छ ।

गाउँगाउँमा सिंहदरबारको नारा सहित कर्मचारी समायोजन गरियो तर ती कर्मचारी कता छन् अत्तोपत्तो छैन । सरकार समायोजन गर्ने अनी कर्मचारी सुगम र पायक पर्ने ठाउँमा रोजेर जाने हुँदा बिकट गाउँका नागरिक भने स्वास्थ्य सेवानै नपाउँने अवस्थामा पुगीसकेको छ । यस बिषयमा प्रदेश मन्त्रालयमा बारम्बार प्रस्ताव राखेको भएपनि सुनुवाई नभएको अस्पतालका निमित्त प्रमुख डक्टर रमिन महर्जनको भनाई छ ।

संसादकै कुरा सुनुवाई हुदैन ।
प्रदेश नम्बर १ का स्वास्थ्य मन्त्रालयका सचिव बीर बहादुर राईलाई फोन सम्पर्क गर्दा उहाँको फोन उठेन । यता सोलुखुम्बु जिल्ला प्रदेश सभा (ख) का सांसद एवम् नेकपा प्रदेश नम्बर १ का ससंदिय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले जिल्लाको स्वास्थ्य अवस्था बारे संघिय सरकारलाई समेत बारम्बार जानकारी गराएको भएपनि बेवास्ता गरेको बताउँनुभयो ।

स्वास्थ्य मन्त्रालयको लापर्वाहीको सिकार जिल्ला अस्पताल फाप्लु बन्न पुगेको उहाँको भनाई छ । आफुले बारम्बार आवज उठाउँदा समेत सुनुवाई नभएको गुनासो गर्दै सांसद राजभण्डारीले सर्वसाधरणको समस्यालाई सरकारले नबुझेको दावी गर्नुभयो । यस्तै अवस्था रहिरहने हो भने आफु चुप लागेर नबस्ने समेत उहाँले चेतावनी दिनुभयो । यस बिषयमा सोलु एफएमले बारम्बार समाचार, समाचार रिपोर्ट देखी रेडियो कार्यक्रम सरोकार समेत प्रशारण गरिरहेको छ । solu fm

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार