काठमडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डाईलासिस गरिएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डाइलाइसिस गरिएको अस्पताल श्रोतले जनाएको छ ।
मिर्गौलाले काम गर्न छाडेपछि चिकित्सकहरूले आकष्मिकरूपमा डाइलाइसिस गरेका हुन् । बिहान साढे १० बजेको समयमा सरकारी निवास बालुवाटारबाट धापासीस्थित ग्राण्डी अस्पतालमा लगिएका प्रधानमन्त्रीको शरीरमा क्रेटिनाइन र प्रोटिन अत्यधिक देखिएपछि मिर्गौला बचाउन दिउँसो २ बजेतिर डाइलासिस गरिएको बताईएको छ ।
ग्राण्डीको सघन उपचार कक्ष (आईसीयू) स्थित १४१६ नम्बरको बेडमा भर्ना गरेर बुधबार दिउँसो एक पटक डाइलासिस गरिएको गरिएको भएपनि अस्पताल प्रशासन र उपचाररत चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य र उहाँको स्वास्थ्य रिपोर्ट अत्यन्त गोप्य राखेका छन् । उनलाई अब अर्को पटक डाइलासिस गर्ने नगर्ने टुंगो गरेर चिकित्सकले भोलिसम्ममा डिस्चार्ज दिनेछन् ।
स्रोतका अनुसार मिर्गौलामा गम्भीर समस्यासँगै प्रधानमन्त्रीको फोक्सोमा पनि संक्रमण भएको पाइएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रमको फोक्सोमा पानी जमेको छ । तर बुधबार साँझ ग्राण्डी अस्पतालको तर्फबाट निकालिएको प्रेस नोटमा प्रमको स्वास्थ्य सामान्य रहेको उल्लेख छ । छातीमा पनि संक्रमणमा देखिएपछि प्रधामन्त्रीले स्वासप्रश्वास प्रक्रियामा अफ्ठेरो महसुस गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री मिर्गौलाको नियमित चेकजाँचका लागि ग्राण्डी गएको बताईएको छ । मिर्गौलाका बिरामी प्रधानमन्त्री ओलीलाई ज्वरो आउने र टाउँको दुख्ने समस्या देखिएपछि बुधबार बिहान ग्रान्डी लगिएको थियो ।
गत भादौमा सिंगापुरमा ६ पटकसम्म प्रधानमन्त्रीको प्लाज्मा फेरोसिस विधिबाट उपचार गरिएको थियो । यो विधि मिर्गौलाको उमेर बढाउन प्रयोग गरिन्छ । त्यहाँ यो विधिबाट उपचार सफल भएपछि मिर्गौलाको डाइलासिस नगरी प्रधानमन्त्री नेपाल फर्कनुभएको थियो । १२ वर्षअघि मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि नियमित उपचाररत छन् । गम्भीर स्वास्थ्य समस्या देखिँदा सिंगापुर र अन्य देशमा जाने गरेका ओलीको नेपालमा पनि उपचार जारी छ । यसअघि सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरेर प्रम ओली गत भदौ २० भदौ फर्कनुभएको थियो ।