भोजराज कार्की
सोलुखुम्बु : जब दशै तिहारको तिथि नजिकिन्थ्यो, त्यो बेला गाउँ गाउँको डाँडा र चौतारा नजिक रोटे अनी लिङ्गे पिङ स्थापना गर्ने चटारो हुन्थ्यो । गाउँका युवा तथा बुढापाकाको समेत सक्रयतामा पिङ स्थापना गर्ने र रमाईलो गर्ने नेपाली संस्कारनै हो । दशैको बेला एक दिन जमिन छाड्नुपर्ने मान्यतालाई आत्मसाथ गर्दै पिङ खेल्ने र दुःख भुल्ने गरिने भएपनि यो क्रम बिस्तारै लोप हुँदै गयो । अनि सञ्चार माध्यम देखी बृद्धबृद्धा समेत चिन्तित बने ।
मनोरञ्जनका अन्य साधन बिस्तारै शहर देखी गाउँसम्म भित्रिन थालेपछि संस्कृतीको रुपमा लिईने रोटेपिङ हराउन थालेको छ । संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएका कारण लोप हुदै गएको समाचार बारम्बार आउँने गरेको छ । यसैक्रममा सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुका युवाहरु भने लोप हुँदै गएको रोटेपिङ संरक्षणमा जुटेका छन् । लोपोन्मुख अवस्थामा रहेको रोटेपिङको संरचना समेत नदेखेका यहाँका स्थानीय आफैले पिङ स्थापना गरेका हुन् । लिङ्गे पिङ स्थापना गरी मनोरञ्जन लिने गरेको भएपनि श्रोत साधन र सिपको कारण रोटे पिङ स्थापना गर्न नसकिएको स्थानीय लक्ष्मण श्रेष्ठले बताउँनुभयो ।
केहि दशक सम्म गाउँगाउँमा रोटेपिङ स्थापना हुने भएपनि सदरमुकाम सल्लेरीमा आफु जन्मेदेखि नदेखेको पिङ देख्न र खेल्न पाएको भन्दै स्थानिय खुसी व्यक्त गर्छन् । संस्कृति जोगाउने दायित्व युवा पुस्ताको समेत भएकाले सोही अनुसार आफुहरु सक्रिय बनेको दोर्पुका सुवास राजभण्डारीको भनाई छ ।
बर्ष दिनमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँ तिहारमा खेल्नु पर्ने नेपाली मान्यता रहेको छ । तर हिजो आज भने आधुनिक जीवन शैलीसँगै नेपाली संस्कृति विस्तारै हराउँदै गएकाले संस्कृति संरक्षणमा सबैको दायित्व उत्तीकै भएकाले आफुहरु लागी परेको स्थानिय बिकास श्रेष्ठको भनाई छ । रोटे पिङका लागि युवा जनशक्ति आवश्यक पर्ने भएपनि ती युवा जनशक्ति विदेशीनु, भएका युवाहरु पनि प्रविधिको पछि लाग्दा संस्कृती नै लोप हुदै गएको योङ्ग स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले बताउँनुभयो ।
अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई प्रविधि र संस्कृती हस्तान्तरण गर्ने उदेश्यले थुलुङदुधकोशी गाउँपालिका ६ मुक्लीबाट पिङका लागि आवश्यक सामाग्री सहित जनशक्ति ल्याएर निर्माण गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । रोटेपिङको लागी आवश्यक सामाग्री एक पटक निर्माण गरेपछि बर्षोबर्ष पुग्ने भएकाले आगामी बर्ष देखी दशै अगावै स्थापना गर्ने बताईएको छ । यो बर्ष तिहारमै भएपनि पिङ राखिएको भएपनि आगामी बर्ष समयमानै स्थापना गर्ने क्लवका अध्यक्ष श्रेष्ठको भनाई छ ।
थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ६ का सिमित व्यक्तिले पिङका लागि आवश्यक सामाग्री निर्माण गर्ने गरेका छन् । स्थानीयले निर्माण गरेका ती सामाग्री सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पु सम्म ढुवानी गरी आईतबार देखी सञ्चालनमा ल्याईएको छ । “म २०२८ साल देखी यही सल्लेरीमा छु, अहिले सम्म रोटे पिङ देखेको थिईन ।” स्थानीय लक्ष्मण श्रेष्ठले भन्नुभयो, “गाउँ गाउँमा समेत लोप हुँदै गएको अवस्थामा जिल्ला सदरमुकामको लागि यो नयाँ काम हो, यो कार्यलाई अरुलेपनि सिक्न आवश्यक छ ।”
विभिन्न संस्कार संस्कृतिकै कारण विश्व सामु छुट्टै पहिचान बनाउँन सफल नेपालमा पछिल्ला पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले विभिन्न मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको बताईन्छ । दशैँ र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई पिङ बनाउने फुर्सद र सीप पनि छैन । नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा संस्कृतिको लोप हुने खतरा पनि उत्तीकै छ । त्यसैले सस्कृती संरक्षणमा युवा पुस्ता जुटन र संस्कृती हस्तान्तरण गर्न पनि आबश्यक रहेको सोलुदुधकुण्ड वडा नम्बर ६ का वडा अध्यक्ष राम कुमार श्रेष्ठले बताउँनुभयो ।