काठमाडौं : यमपञ्चक अर्थात् तिहारको चौथो दिन सोमबार (आज) गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
हातमा बाँधिएको रक्षबन्धन गाईको पुच्छरमा किन बाँधिन्छ ?
आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ ।
दुई दिन आत्म (म्हः) पूजा गरिँदै
नेवार समुदायले गर्दै आएको आत्म (म्हः) पूजा पनि आजै गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेको छ । नेवार समुदायका मानिस भने आत्मपूजा आज र भोलि दुई दिन गर्नेमा विभाजित भएका छन् ।
विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मङ्गलबार भाइटीका लगाउने तयारी गरेका छन् । उपत्यका र बाक्लो नेवारी बस्ती भएका स्थानमा भने नेवार समुदाय म्हःपूजा एवं भाइटीका मनाउन विभाजित भएका छन् ।