यात्रुको भाडा फिर्ता गराउँन सिडिओ र डिएसपीनै सडकमा !

भोजराज कार्की-
सोलुखुम्बु : सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बाहाना पारी यात्रुलाई ठगेको सुचनाको आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाई गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र प्रहरी नायव उपरिक्षक नारण प्रसाद चिमोरिया आफै सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलो रेकर्ड हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलिले बढी भाडा लिने सवारीलाई कार्वाही गर्दै यात्रुको रकम फिर्ता गराईरहेको छ । बारम्बार सचेत गराउँदा समेत बिभिन्न बाहाना पार्दै यात्रुलाई बढी भाडा लिएपनि कतिपय यात्रु स्वयम्ले ढाँटेर दोषिलाई उन्मुक्ति दिने काम गरेको पाईएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । उनले भने, “ट्राफिक प्रहरीको सक्रियता सन्तोषजनक छ, तर पनि स्थलगत गुनासो सुन्ने र आगामी योजना निर्माण गर्ने गरि रातीनै सडकमा गयौ, हे¥र्यौ धेरै कुरा बुझ्यौ ।”

४४ जना यात्रुको भाडा फिर्ता ।
आईतबार ओखलढुङगाबाट सोलुखुम्बु भित्रिएको सवारीसाधानमा चेकजाँच गर्दा ७ जना यात्रुबाट रु.५० का दरले बढी लिएको पाएपछि रकम फिर्ता गराईएको प्रहरी नायव उपरिक्षक नारायण चिमोरीयाले जानकारी दिए । ओखलढुंगा सल्लेरीको लागि रु.४५० भाडा कायम गरिएको छ ।

सोमबार पनि थुलुङदुधकोशीको दिप्लीघाटबाट सल्लेरी आउँने जीपले निर्धारण गरिएको भन्दा रु.३ सय बढी भाडा लएपछि फिर्ता गराईएको प्रहरीले जनाएको छ । २९ जना यात्रुको जनही रु.३ सय भाडा फिर्ता गरिएको ट्राफिक प्रहरी नारयण बहादुर बस्नेले जानकारी दिए । दिप्लीघाट देखी सल्लेरी सम्मको रु.७ सय भाडा निर्धारण गरिएको भएपनि यातायात व्यवसायीले रु.१००० लिदै आएका छन् । यस्तै सोमबारनै काठमान्डौ जाने ८ जना यात्रुबाट बढी लिएको भाडा फिर्ता गराएको प्रहरीले जनाएको छ । सल्लेरी काठमान्डौ रु.१६०० भाडा निर्धारण गरिएको भएपनि २ जनाबाट रु.२ हजार र अन्य ६ जना बाट रु.१८०० भाडा लिएको पाईएको ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतले जानकारी दिए ।

भाडा फिता पाएपछि यात्रु हर्षित ।
बढी तिरिएको रकम फिर्ता पाए पछि यात्रु भने निकै खुसि भएका छन् । प्रमुख जिल्ला अधिकारी सहितको टोलिले चेकिङ गर्दै थिए पत्रकार समेत रहेका जुबुका डाकमान राईले भने, “मलाई यो कार्य देखेर अत्यान्तै खुसी लाग्यो, यस्तो चेकिङ निरन्तर भयोभने अझै राम्रो हुन्छ ।”

कुनै सवारी साधनले बढी भाडा लिएको खण्डमा १०० नम्बरमा फोन गरेर जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ । अहिले पनि टिकट काउण्टरका कर्मचारीले गाडी अभाव तथा सिट नभएको भन्दै सल्लेरी देखी काठमान्डौका लागि रु.२ हजार सम्म लिदै आएका छन् । पछिल्लो पटक जिल्ला प्रशासनमा यातायात व्यवसायी सहितको बैठकले सल्लेरी काठमान्डौ रु.१६०० भाडा निर्धारण गरेको छ ।
व्यवसायीको मनोपोलिमा सञ्चारकर्मीनै परे ।

सञ्चार कर्मी समेत रहेका थुलुङदुधकोशी गाउँपालिका जुबुका धनबल राईले मंगलबार काठमान्डौ जानको लागि काउण्टरमा बुझ्दा रु.१८०० भाडा भनेपछि केही डिबेट सम्म भएको बताए । “हामीलाई त ठग्न खोज्नेले झनै अरुलाई त के गर्लान ?” उहाँले प्रश्न गर्दै भन, “तर यहाँको प्रहरी प्रशासनको सक्रियता राम्रो रहेछ, प्रहरीलाई हाम्रो बास्तबीकता भन्यौ भने त न्याय पाईने रहेछ ।”

“मंगलबार बिहान काठमान्डौ जाने गरि गेटवे यातायात प्रा.लिमा टिकट लियौ ।” यात्रु डाकमान राईले भने, “टिकटमा १६,०० लेखे हामीले पनि निर्धारित भाडा त्यतीनै दियौ, तर साझ फोन गरेर लु नसकिने भयो त्यतीमा भन्दै थियो, हामीले हेरौला नि भनेको त बिहान त छाडेर पो गएछ ।”


यातायात व्यवसायीको लापार्वाही थाहापाएपछि ट्राफिक प्रहरीले जिल्लाको नाका पत्तालेमा उक्त यातायातको सम्पुर्ण जीपलाई रोकेको थियो । काउण्टरका कर्मचारीलाई दुई जना टिकट लिएका यात्रु काठमान्डौ पठाउँने व्यवस्था नभएसम्म जीप नछाड्ने प्रहरीको निर्देशन पछि तत्काल अर्को गाडीको व्यवस्था भएको ट्राफिक प्रहरी इन्चार्ज संजिव चौधरीले जानकारी दिए । सञ्चार कर्मीलाईनै यसरी ठग्ने र भरपर्दो सेवा नदिने घरैपिच्छे खोलिएका टिकट काउण्टर व्यवस्थीत हुनुपर्ने उनीहरुको माग छ ।

प्रहरीकै अगाडी भाडा बुझाउँनुपर्ने ।
टिकट नदिने र प्रहरीको चेकिङ सकिएपछि मात्रै भाडा लिन थालेपछि प्रहरीकै रोहबरमा भाडा तिर्न लगाउँने र गाडी छुटाउने सम्मको काम प्रहरीले गर्दै आएको छ । योे अवधिमा १ सय भन्दा बढी सवारी कार्वाहीमा परेको प्रहरीले जनाएको छ ।

अहिले अस्थायी जिल्ला ट्राफिक प्रहरी पोष्ट र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुृक्त टोलिले बिहान ४ बजे देखी राती १०ः३० बजे सम्म नियमीत ड्यूउटी गर्ने गरेको प्रहरी नायव उपरिक्षक नारण प्रसाद चिमोरियाले जानकारी दिए । “बेला बेलामा रातको कुनै प्रवाह नगरि हामी पनि बाहिर निस्केर हिडिरहेका हुन्छौ ।” उनले भने, “कसैले ठगिएको महशुस भए प्रहरीलाई खबर गर्नुहोला, तत्काल कार्वाही हुन्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार