आज कोजाग्रत पूर्णिमा, यसबर्षको दशैँ सकिदै

काठमाडौं : नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् १५ दिने लामो बडादशैँ पर्व आजदेखि सकिदै हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दशैँपनि सकिन्छ ।

आज अपराह्न १२ः२२ मिनेटसम्म (१५ घडी ४४ पला) चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गर्ने परम्परा छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व रहेको बताईन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार