प्रहरी दिवसमा उत्कृष्ट काम गर्ने देखी अमर प्रहरीका सदस्य समेत सम्मानीत

सोलुखुम्बु : शुक्रबार विभिन्न कार्यक्रम गरि ६४ औँ प्रहरी दिवस मनाईएको छ । दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी तथा अमर प्रहरीका परीवारलाई समेत सम्मान तथा पुरस्कृत गरिएको छ ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा भएको कार्यक्रममा जिल्लामा कार्यरत प्रहरी र अमर प्रहरीको परिवारलाई समेत सम्मान गरिएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय सोताङमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रविन कार्की र सोताङमै कार्यरत प्रहरी हवलदार राजन कार्कीलाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको छ । उनीहरुको टोलीले सोताङमा सुन सफा गर्ने वाहानामा चोरी गरि फरार रहेका दुई व्यक्तिलाई प्रक्राउ गरेको थियो ।

त्यस्तै ट्राफिक व्यवस्थापनमा काम गरे बापत अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज प्रहरी हवल्दार संजिव चौधरीलाई पनि सम्मान गरिएको छ । प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अस्थायी प्रहरी चौकी तामाखानीमा कार्यरत प्रहरी जवानहरु केदार दनुवार र रोशन बम्जन, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार रञ्जना कुमारी खड्का र प्रहरी जवान सञ्जय कुमार यादव पनि सम्मानीत भएका छन् ।

दुई अमर प्रहरीका परिवारलाई सम्मान

प्रहरी दिवसको अवसर पारेर मा २ जाना अमर प्रहरीका परिवारलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । १० बर्षे शसस्त्र द्धन्द्धको क्रममा मृत्यु भएका जिल्लाका ७ जना प्रहरी कर्मचारीका परीवार भएपनि पाँच जना प्रहरीको परिवार जिल्ला बाहिर भएकाले २ परिवारलाई मात्र सम्मान गरिएको बताईएको छ ।
अमर प्रहरीका श्रीमतिलाइ बिहीबार उनिहरुको घरैमा गएर दोसल्ला ओढाउनुका साथै छोराछोरीलाई फलफूल सङ्गै कापी कलम बितरण गरिएको छ । यसरी सम्मानित हुनेमा कागेलका अमर प्रहरी ठमल बस्नेत र सल्यानका खेम बस्नेतका परिवार छ्न । अन्य अमर प्रहरीका परिवार जिल्ला बाहिर भएकाले सम्मान गर्न नसकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

को काहाँ कुन घटनामा मृत्यु भएका थिए ?
माओवादी शसस्त्र द्धन्द्धको क्रममा सोलुखुम्बु स्थायी ठेगाना भएका विभिन्न पदमा कार्यरत प्रहरीको मृत्यु भएको थियो । १० बर्षे द्धन्द्धको क्रममा उनीहरुको मृत्यु भएको बताईएको छ ।
मृत्युहुनेमा :
-सोलुखुम्बु साविक नेले ५ का प्रहरी नायब निरीक्षक इन्द्र बहादुर बस्नेतको २०५७ साल फागुन २७ गते सिन्धुलीको डकाहामा एम्बुजमा परी मृत्यु भएको थियो ।
– सल्यान ७ का प्रहरी सहायक निरीक्षक खेम बस्नेतको २०६२ साल चैत ९ गते इलाका प्रहरी कार्यालय अनारमनी झापा आक्रमणमा परी मृत्यु भएको ।
-काँगेल ६ का प्रहरी हवल्दार ठमल बहादुर बस्नेतको २०५८ साल जेठ १४ गते सोलुखुम्बुको जुबुको भिडन्तमा घाईते भई उपचारको क्रममा २०६३ साल चैत १५ गते मृत्यु भएको ।
-छेस्काम ६ का प्रहरी हवल्दार तिर्थराम राईको २०५८ साल मंसिर १० गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु आक्रामणमा परी मत्यु भएको ।
-बासा ७ का प्रहरी जवान जोरमान राईको २०५९ साल भदौ २८ गते सिरहाको मिर्चैयामा एम्बजुमा परी मृत्यु भएको ।
-थुलुङदुधकोशी ८ देउसाका प्रहरी जवान बल बहादुर राईको २०६० साल चैत २२ गते यदुकुवा धनुषामा माओवादी आक्रमणमा परी मृत्यु भएको ।
– र काँगेल ३ का प्रहरी हवलदार केशब कुमार खत्रीको २०६१ साल पुष १७ गते धनकुटाको भेडेटारमा एम्बुजमा परी मृत्यु भएको थियो ।

कार्यक्रममा कस्ले के भने ?

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले प्रहरी कानुनको कार्यान्वय कर्ता भएको भन्दै कानुनको पालना गराउने विषयमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए । उनले प्रहरी बिनाको समाज कल्पना समेत गर्न नसकिने भएकाले प्रहरीले निष्ठाका साथ काम गरेकै कारण नेपाली समाजले शुरक्षाको महशुस गरेको बताए ।
सोलुदुधकुण्ड नगरपालिका उप मेयर कल्पना राईले शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरिन् । समाजमा शान्ति सुव्यवस्था कायम हुँनुको पछाडी प्रहरीको सक्रियतानै प्रमुख रहेको बताईन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरीयाले प्रहरीको सेवा चिन्नु र किन्नु नपर्ने भएकाले सर्वसाधारणले सहज रुपमा सेवा पाउनु पर्ने बताए । दुख पाएको अवस्थामा मात्र प्रहरीकोमा आउने भएकाले सेवा ग्राहीलाई सहज सेवा दिनु प्रहरीको कर्तव्य भएको भन्दै सोही अनुसार कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए ।

कसैको दवाबमा नपरी अनुसन्धान गर्नु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै कसैको दावाबमा नपरीकन अनुसन्धान गर्न प्रहरी अधिकारीलाई निर्देशन दिए । प्रहरी प्रधान कार्यालयमा आयोजीत कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधिक गतिविधिमा संलग्न जुनसुकै पद र शक्तिको भएपनि माफि दिन नहुने बताए ।
शान्ति–शुरक्षा एवम् सुशासन प्रदेश सरकारको

प्रमुख सर्त : मुख्य मन्त्री राई
शान्ति–शुरक्षा एवम् सुशासन प्रदेश सरकारको प्रमुख सर्त रहेको प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बताए । ६४ ओ प्रहरी दिवसको अवसरमा बोल्दै मुख्य मन्त्री राईले देश शान्तिको बाटोमा हिडिरहेकाले विगतको जस्तो समस्या नहुने तर्क गर्दै निष्ठाका साथ काम गर्नुपर्ने धारण व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार