सोलुखुम्बु : प्रहरीले तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कार्वाही गरेको छ । चेकजाँचको क्रममा प्रशासनले निर्धारण गरेको भन्दा बढी भाडा लिएको पाएपछि संबन्धित यात्रुलाई फिर्ता गराएको प्रहरीले जनाएको छ ।
बिहिबार सोलुखुम्बुबाट काठमान्डौ लगाएतको क्षेत्रमा जाने यात्रुबाट बढी लिएको भाडा संबन्धित यात्रुालाई फिर्ता गराएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारण प्रसाद चिमोरियाले जानकारी दिए । उनका अनुसार प्रहरी निरिक्षक प्रदीप सुवेदीको नेतृत्वमा खटेको ट्राफिक प्रहरी सहितको टोलिले यात्रुको गुनासो अनुसार कार्वाही गरेको हो ।
बिहिबार बिहानै गरेको चेकजाँचको क्रममा १२ जना यात्रुबाट २ देखि ४ सय सम्म बढी भाडा लिएको भेटिएको प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए । नियमविपरित कार्य गर्ने यातायात व्यवसायीलाई पहिलो पटक सम्झाउने र बढी रकम फिर्ता गराउने काम गरिएको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा यात्रुहरु बढी भन्दा बढी ठगीने संभावना भएकाले यस तर्फ सोलुखुम्बु प्रहरी सचेत रहेको प्रहरी नायव उपरीक्षक (डिएसपि) नारण प्रसाद चिमोरियाले बताए । उनले कुनैपनि बहानामा यात्रुलाई ठग्न खोजेमा तत्काल पैसा नलाग्ने फोन १०० मा डायल गरि खबर गर्न समेत आग्रह गरे ।
दशै सकिएसंगै जिल्लाबाट बाहिर जाने यात्रुको चाप अत्याधिक रहेको यातायात व्यवसायीले बताएका छन् । दुधकोशी यातायात प्रालिका काउण्टर इन्चार्ज दोर्जी शेर्पाका अनुसार अहिले यात्रुको चापकै कारण सेवा उपलब्ध गराउन मुस्कील परेको छ । यस्तो अवस्थामा रिजर्वमा मात्रै सेवा दिने गरेको यात्रुले गुनासो गरेका छन् ।
काठमान्डौ लगाएतको क्षेत्रबाट जिल्ला भित्रने यात्रु कम हुँदा समस्या हुने गरेको यातायात व्यवसायी बताउँछन् । एकोहोरो यात्रु लिएर जानुपर्दा व्यवसायीलाई मार्का पर्ने भएकाले यात्रु आफैले रिजर्वमा गाडी बोलाउने गरेको यातायात व्यवसायी दोर्जी शेर्पाको भनाई छ ।
सल्लेरी देखी काठमान्डौ सम्म करिब २७६ किलोमिटर दुरीका लागि जिपको रु.१४०० भाडा भएपनि अहिले प्रति यात्रु रु.२००० सम्म लिने गरेको पाईएको छ । यता ग्रामीण सडकमा समेत व्यवसायीले मनोमानी भाडा लिने गरेको एक यात्रु छत्रबहादुर कार्कीले गुनासो गरे । सल्लेरी नजिकै नाजिङ देखी रिजर्व गर्दा समेत ९ जना यात्रुको रु.१३ हजार ५०० मात्र लिनुपर्ने भएपनि यहाँ रु.२० हजार सम्म लिएको पाईएको छ । एक होटल व्यवसायीले भनिन्, “गाडी छैन भन्छन्, म आफैले २० हजारमा नाजिङबाट काठमान्डौ सम्म रिजर्व मिलाईदिएको छु, के गर्नु नगई भएको छैन ।” प्रशासनले रु.३०० निर्धारण गरेको दुरीमा ५ सय सम्म लिने गरेको यात्रुले बताउँने गरेको भएपनि प्रहरीले चेकजाँज गर्दा तीन सय मात्रै भन्ने गरेको पाईएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालका अनुसार पनि चेकजाँचको क्रममा यात्रु आफैले रिजर्वमा हिडेको बताउँने गर्दा यात्रु बढी ठगिएका छन् । कमिसनमा टिकट काट्नेलाई निरुत्साहान गर्ने उदेश्य प्रहरी प्रशासनको भएपनि यात्रुको कम्जोर प्रस्तुतीले गर्दा समस्या भएको प्रहरीको भनाई छ । यातायात व्यवासयी संगको सम्बन्धका कारण यात्रुले गलत सुचना दिदा दोषिले उन्मुक्ति पाउँने गरेका छन् ।