ग्राहकलेनै पसलेको हत्या ?

काठमाडौं : नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ५५ वर्षीया कमला भन्ने हिरु केसीको हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भदौ ३१ गते राति कपनस्थित तेञ्जिङचोक नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ, ओखलढुङ्गाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्की र रौतहटका सविना तामाङ रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले नशालु पदार्थ सेवन गराएर सुनको गहना लुटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । “सुनकै गहना लुट्नका लागि हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ”, उनले भने ।

मृतक कार्कीले विगत केही वर्षदेखि खाजा, किराना पसलसँगै रक्सी पसल सञ्चालन गरेको र हत्यामा संलग्न भएका व्यक्तिहरु ग्राहक बनेर उक्त पसलमा आउने गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्तिहरुले मृतक कार्कीको चारवटा सुनको औँठी र रु ४५ हजार नगद लुटेका थिए । हत्यामा संलग्न राजकुमार थापामगर भने अझै फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार