ओखलढंगामा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु

मनोज भट्टराई

ओखलढुंगा : सरकारको नीतिअनुसार ओखलढंगामा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । जिल्लाका आठैवटा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायमा स्वास्थ्य बीमा बोर्ड काठमाडौँले देशकै ४९ औँ जिल्लाका रुपमा ओखलढुंगामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो ।

विसं २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु गरिएको उक्त कार्यक्रम ओखलढुंगामा सघिय सांसद यग्यराज सनुवार जिल्लामा स्वास्थ्य बीमा गराउने पहिलो ब्यक्ति बनेका छन् । सुनुवार लगायत सिद्धिचरण नगरपालिकाका पमुख मोहन कुमार श्रेष्ठ र उपप्रमुख ईच्छाकुमारी गुरुङले पनि स्वास्थ्य विमा गराएका छन् ।

विमा संवन्धि तीनदिनको आधारभुत तालिम पछि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका हरेक वडामा दर्ता सहयोगी जनशक्ति राखिएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोख्रलले बताए । स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न बाँकी जिल्लामा क्रमशः कार्यक्रम विस्तार गर्दै लैजाने स्वास्थ्य बीमा बोर्डले नीति लिएको उनको भनाई छ । नेपालमा सबैभन्दा पहिले सन् १९७६ मा अन्तर्रा्िष्ट्रय गैरसरकारी संस्था युनाइटेड मिसन टू नेपालले सिएचडिपी कार्यक्रममार्फत स्वास्थ्य बीमा शुरु गरेको थियो । त्यसपछि काठमाडौँ, धादिङ, नवलपरासी र सुनसरीमा विभिन्न सङ्घ संस्थाबाट उक्त कार्यक्रम लागू गरिएको पख्रेलले बताए ।

नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा समेटिएको छ भने संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको कारण सबैलाई स्वास्थ्य विमा गर्न सघिय सांसद यज्ञराज सुनुवारले आग्रह गरे । स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य बीमा ऐन विसं २०७४ र स्वास्थ्य बीमा नियमावली विसं २०७५ जारी भई कार्यान्वयनको चरणमा रहेको बताए । उनले नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बीमा नीति विसं २०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको बताए ।

एक परिवारलाई कति बिमा रकम ?

स्वास्थ्य बीमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक रु तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्यको थप रु ७०० बीमा रकम तिर्नुपर्ने व्यवस्था छ । स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि पाउने छन् । त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य रु २० हजार थप गरी रु दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार