भक्तपुर : नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुन नारायणमान बिजुक्छे निर्वाचित भएका छन् । पार्टीको सातौँ महाधिवेशनबाट बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।
सोमबार साझ सम्पन्न अधिवेशनबाट चयन भएको नँया कार्यसमितिमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, सुनिल प्रजापति, नवराज कोइराला, सनकमान महर्जन, नन्दबहादुर रहेका छन् । त्यस्तै जग्यबहादुर शाही शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएको नेकमकिपाले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष बिजुक्छेले बन्दसत्रमा शपथग्रहण गरेको र उनले शपथग्रहण गरेपछि निर्वाचित सदस्यहरूलाई शपथग्रहण गराएका थिए । प्रतिनिधि लक्ष्मण जोशीको संयोजकत्वमा उद्धव सुजखु र सुनकेसा शाही सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । सोमबारको बन्दसत्रले पार्टी अध्यक्ष बिजुक्छेले प्रस्तुत गरेको जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमका रूपमा पारित गरेको र पार्टीको भावी कार्यक्रममाथि समूहगत छलफल र समूह प्रस्तुतिपछि संशोधनसहित पारित गरिएको थियो ।